राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ नेकपा नेत्री झाँक्री रिहा

काठमाडौँ । नेकपा प्रचण्ड नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

उहाँलाई प्रहरीले श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई बिहीबार मध्यान्ह बानेश्वरस्थित घरबाटै पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो । उनलाई प्रहरीले पक्राउ गरेपछि प्रचण्ड–नेपाल पक्षसहित, नेपाली काँग्रेस, विभिन्न दलका नेता, अधिकारकर्मीलगायतले विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए ।

यस्तै केपी ओली नेतृत्वको सरकारको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो ।यस्तै प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।

Comments
Loading...