फुटपाथ र पार्किङबारे पोउवा संघले महानगरलाई दियो १८ बुँदै सुझाव

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकालाई फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापनपत्र बुझाएको छ ।
संघका वाणिज्य उपाध्यक्ष तथा फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार महानगरका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको हो । प्रतिनिधिमण्डलमा संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री,कार्यसमिति सदस्यहरु शोभा गौतम,देवेन्द्र केसी,मुना बास्तोला, उत्तममान बुद्धाचार्य,सुदीप प्रधानाङ्ग,भरत केसी,पवित्रादेवी गुरुङ,बालकृष्ण कोइराला,यमनाथ तिमिल्सिना र रुपनारायण भुजेलको सहभागिता रहेको थियो ।
संघले सोही सुझाव तथा ज्ञापनपत्र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई बाधार्थको रुपमा हस्तान्तरण गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै पोखरा महामनगरपालिकाका मेयर मानबहादुर जिसीले पार्किङको जिम्मा लिने कम्पनीको कामप्रति महानगर सन्तुष्ट नरहेको बताउनुभयो ।
आफूलाई पार्किङ व्यवस्था नै मन नपरेको बताउँदै आउँदो आर्थिक वर्षमा ठेक्का सम्झौता नविकरण गर्ने÷नगर्नेबारे निर्णय गरिने बताउँदै उहाँले बिदाको दिन, रातको समयमा र तोकिएका ठाउँबाहेक अन्यन्त्र पार्किङ शुल्क लिन नहुनेमा उहाँले सहमति जनाउनुभयो ।
उद्योगी÷व्यवसायीले पोखरालाई सुन्दर र व्यवस्थित बनाउन दिएको सुझाव स्वागतयोग्य रहेको बताउँदै मेयर जिसीले अध्ययनपछि कार्यान्वन सुरु गरिने आश्वासन दिनुभयो ।

१८ बुँदै सुझावलाई ज्ञापनपत्रको रुपमा बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले सर्वसाधारण र व्यवसायीको हितका लागि सुझावहरु दिएको जानकारी दिनुभयो । उहाँले संघ पोखराको व्यापार साझेदार पनि भएको स्मरण गर्दै पोखरा बिग्रँदाको दोषबाट महानगर मुक्त हुन पनि सुझाउनुभयो ।

संघले बुझाएको सुझावमा सम्झौता नभएका ठाउँमा पार्किङ शुल्क उठाउन तत्काल बन्द गर्नुपर्ने,सडक सवारी साधन गुड्न र फुटपाथ मान्छे हिँड्न मात्र प्रयोग हुनुपर्ने, वैकल्पिक पार्किङको व्यवस्था गरिनुपर्ने र त्यस्तोमा मनासिव शुल्क लिनुपर्ने, अर्को व्यवस्था नभइञ्जेलसम्म सडकमा पार्किङ गर्दा पनि एकातिर गाडी र अर्कोतिर मोटरसाइकल राखिनुपर्ने,पार्किङ शुल्क घटाउनुपर्ने,नगर क्षेत्रका घरहरुको अण्डरग्राउण्ड पार्किङस्थल सोही प्रयोजनमा लगाउनुपर्ने,पार्किङ एप्स निर्माण गरी सोही एप्समार्फत् ट्राफिक र पार्किङबारे जानकारी गराउनुपर्ने,पार्किङ ठेक्का दिने कार्य नियमसंगत नभएकाले अन्त्य गर्नुपर्ने,पार्किङ शुल्क उठाउँदा बालश्रमको प्रयोग तत्काल रोकिनुपर्नेलगायतका विषय समेटिएका छन् । संघले उद्योगी÷व्यवसायीहरुसँग विभिन्न चरणमा सुझाव संकलन गरी एकमुष्ठ रुपले साझा सुझाव महानगरलाई बुझाएको हो ।

Comments
Loading...