राष्ट्रिय रेस्लिङ च्याम्पियनसीप चैत अन्तिम साता पोखरामा हुने

हिमाली आवाज । नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले पोखरामा चैत अन्तिम साता दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोेगिता हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा यही चैत २० र २१ गते पोखरामा देशका उत्कृष्ट रेस्लरहरु सहितको राष्ट्रिय रेस्लिङ प्रतियोगिता सञ्चालनको तयारी गरिएको आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिव एवं राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्वमामात्र नभई नेपालमा पनि रेस्लिङ खेलप्रति युवावर्गको आकर्षण बढिरहेको अवस्थामा खेलको विकास र विस्तार गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको हो ।

पोखरा रङ्गशालाभित्रको बहुउद्धेश्शीय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा देशका १४ जिल्लाबाट ३५ जना खेलाडीले ‘लाइट’, ‘हेभी’ र ‘हार्डकोट’ विधामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । पहिलो संस्करण विसं २०७५ मा काठमाडौँमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको विजेताले नगद रु एक लाख सहित च्याम्पियन वेल्ट र उपविजेताले रु ५० हजार मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने स्थानीय व्यवस्थापक लुना गुरुङले जानकारी दिनुभयो ।सङ्घले यसअघि विसं २०७३ फागुन १८ देखी २१ गतेसम्म पोखरामा नेपाल भारत मैत्रीपूर्ण प्रतियोगिता र विसं २०७४ फागुनमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

यस वर्षपनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको योजना रहेपनि कोरोना भाइरसका कारण सफल हुन नसकेको महासचिव श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो,“गत वर्षनै हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गरेका थियौँ तर कोभिडका कारणले गत वर्ष सम्पन्न हुन सकेन । यस वर्षपनि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितानै गर्न प्रतिवद्ध रहेपनि वातावरण अनुकुल रहेन ।”

रेस्लिङ खेलको विकासका लागि खेलाडी उत्पादन र निरन्तर तालीमका लागि रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिएको र सो एकेडेमीमा नेपालमा चर्चित रेस्लर नुवाकोटे टाइगर(कमल तामाङ)ले नियमित खेलाडीहरुलाई प्रशिक्षण दिँदै आउनुभएको बताइन्छ ।खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिनका लागि सङ्घले वैदेशिक प्रशिक्षणको व्यवस्था गरेको संघले जनाएको छ ।

नेपाल रस्लिङ सङ्घले आगामी असारमा देशका सातै प्रदेशमा प्रदेशस्तरीय च्याम्पियनसीप आयोजना गर्ने योजना रहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशिक्षक तामाङले नेपालमा रेस्लिङ खेलप्रति दर्शककले माया दिँदै आएको बताउँदै चीन, अमेरिका र जापानबाट तालीम लिएर आफूले प्रशिक्षणको कार्य गर्दै आएको बताउनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रतियोगिताले दर्शकको माया पाउने विश्वास व्यक्त गर्दै आफूहरुको ध्यान आगामी वर्ष गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा केन्द्रीत रहेको बताउनुभयो ।

कार्यक्रमा गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताका लागि पोखरा रोजाइमा पर्नुले समग्र गण्डकी प्रदेश गौरवान्नित भएको बताउँदै पोखरालाई खेलकूदको राजधानी शहर बनाउन मद्धत पुुग्ने उल्लेख गर्नुभयो ।

Comments
Loading...