भलिबल प्रतियोगिताबाट बचत रकमले वृद्धाश्रमलाई सहयोग

पोखरा,७ चैत । भलिबल प्रतियोगिताबाट बचत रकमले वृृद्धाश्रममा नगद र खाद्यान्न सहयोग प्रदान गरिएको छ ।

पोखरा महानगरपालिका–११ फूलबारीमा क्रियाशिल धरहरा युवा क्लब र धरहरा टोल विकास संस्थाले महाशिवरात्री पर्वका अवसरमा आयोजना गरेको महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताबाट बचत रकमबाट आज पोखरा–१७ महतगौडामा अवस्थित पोखरा वृृद्धाश्रममा वृद्धबृद्धाका लागि रु २० हजार बराबरको सहयोग गरेको हो ।

टोल विकास संस्थाका उपाध्यक्ष पदम दवाडी, सचिव सुरज पोखरेल र क्लबका अध्यक्ष किसन तिलिजा पुनले वृद्धाश्रमका कर्मचारीलाई नगद रु पाँच हजार तथा चामल, तेल, नून लगायतका खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । संस्थाले रु १५ हजार बराबरको खाद्यान्न प्रदान गरेको जनाएको छ ।

खेल र खेलाडीको प्रवद्र्धन तथा धरहरा टोललाई चिनाउने उद्धेश्यले गत फागुन २७ देखी चैत २ गतेसम्म आयोजना गरिएको सो प्रतियोगिताबाट बचत रकम सामाजिक कार्र्यमा लगाउने योजना अनुसार वृद्धाश्रमलाई सहयोग गरिएको संस्थाका उपाध्यक्ष दवाडीले बताउनुभयो ।

क्लबका अध्यक्ष पुनले पहिलो संस्करणको प्रतियोगिता लक्ष्य अनुसार सफल भएकाले सबैको साथ र सहयोगबाट आगामी वर्ष पनि निरन्तरता दिइने बताउनुभयो ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ बाग्लुङ जिल्ला भलिबल संघ प्रथम,धरहरामार्ग युवा क्लब द्धितीय र धौलागिरी मगर समाज हेमजा तृतीय बन्न सफल भई क्रमशः रु ३० हजार, रु २० र रु १० हजार पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

यसैगरी महिलातर्फ धरहरा युवा क्बल पहिलो र टिजीगर्ल गगनगौँडाले दोस्रो स्थान हासिल गरी रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक सोमु भलङ्जा छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष २० र महिला नौ टोलीले सहभागिता जनाएका थिए ।

Comments
Loading...