स्याङ्जाको आँधिखोला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा

हिमाली आवाज । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ चिलाउनेबासमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । मङ्गलवार गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले उद्घाटन गर्नु भएसँगै गाउँपालिकामा आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो। चिलाउनेबास स्वास्थ्य कार्यालयको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ।

आयुर्वेदिक औषधि, योग, ध्यान लगायत क्रियाकलाप प्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर चिलाउनेबासमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । ‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधाबारे नागरिकमा धेरै उत्सुकता बढाएको छ, अहिले पनि कोरोना संक्रमित अधिकांश नागरिकले रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधिको प्रयोग गरेका छन् ।

आयुर्वेदको महत्त्व विगतदेखि वर्तमानसम्म र भविष्यमा पनि उत्तिकै रहने भएकोले नागरिकको माग अनुरूप आरोग्य सेवा केन्द्र स्थापना गर्नु परेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर सुभद्रा कार्कीले नागरिक आरोग्य सेवा केन्द्रको सेवा आजबाट सुरु हुने र सबैलाई निरोगी तथा स्वास्थ्य बनाउने उद्देश्यका साथ सेवा सुरु भएको बताउँदै रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत आयुर्वेद औषधि महत्वपूर्ण रहेको बताउँदै नागरिक आरोग्य सेवा केन्द्रको भूमिका महत्वपूर्ण हुने भनाई राख्नुभयो ।

गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेकामा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र स्याङ्जालाई धन्यवाद ज्ञापन गरिन र आम जीवनमा रोगहरूबाट लड्नको लागि औषधिको मात्रै आवश्यकता नभई आयुर्वेदिक उपचारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नागरिक आरोग्य सेवा केन्द्रलाई आवश्यक पर्ने औषधि र जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्न तत्पर रहेको बताउँदै गाउँघरमै आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि नागरिकलाई धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक निराजन लामिछानेले एलोपेथिक र आयुर्वेदिक दुबै खाले उपचार पद्धति को सुरुवात गाउँपालिकामा भएको बताउँदै एलोपेथिक उपचार पद्धतिले मात्र सबै रोगहरूको निदान नहुने हुँदा आर्युबेदिक उपचार पद्धतिको सुरुवात गरेको बताउनु भयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र¸स्याङ्जाको व्यवस्थापन समितिको अध्यक्ष यज्ञ प्रसाद पौडेलको अध्यक्षता सम्पन्न भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा नं २ का अध्यक्ष रामचन्द्र पौडेल, स्वास्थ्य संयोजक निराजन लामिछाने ,गैरसरकारी महासंघ स्याङ्जाका अध्यक्ष कमल पौडेल, समाज सेवी नरेन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...