गण्डकी प्रदेशको सीमा नाकामा हेल्थ डेस्क स्थापना

हिमाली आवाज । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताउनुभयो । गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट सीमा नाका हुँदै आवतजावत गर्नेको ज्वरो जाँच गर्दै उनीहरुको ठेगाना लेख्ने काम गर्ने जनाइएको छ ।

प्रदेशकै एकमात्र भारतसँग सीमा जोडिएको नाका भएकाले प्रदेश सरकारले नै स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यस्तो नगरी गाउँपालिकालाई नै जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी राख्न नसकिएको गाउँपालिका अध्यक्ष डम्मरबहादुर जिसीले गुनासो गर्नुभयो । गाउँपालिकासँग सीमित बजेट हुँदा सीमा नाकाको जिम्मेवारी धान्न मुस्किल हुने उहाँको भनाइ छ । सिमानामा प्रदेश सरकारबाट नै कर्मचारी राख्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको जिसीले बताउनुभयो ।

Comments
Loading...