कोरोना संक्रमणबाट वडाध्यक्ष तामाङको मृत्यु

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको मृत्यु भएको छ ।

उहाँलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो । उहाँको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं.–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।

Comments
Loading...