गण्डकी अस्पतालमा ओपिडी लगायतका सेवा आजदेखी खुल्ने

हिमाली आवाज । सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरंग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ ।

अस्पतालले सूचना जारी गरी जेठ २३ गते आइतबारदेखी लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्र्कामा परेका थिए ।

यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् भने अन्य अस्पतालको ‘रिफर’ अस्पताल समेत हो ।अस्पतालका सूचना अधिकारी नारायण प्रसाद आचार्यले अस्पतालमा सञ्चालित बिमा लगायका सबै ओेपिडी सेवाहरु पूर्ववत अवस्थामा सञ्चालन गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का बिरामीहरुको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखी लागू हुने गरी अस्पतालका सबै ओपिडि सेवाहरु बन्द गरिएको थियो ।

पश्चिमाञ्चल अस्पतालमा हाल कोरोनाका बिरामीहरुको उपचारका लागि ३५ आइशोलेशन बेड,१७ आइसियू बेड, छ भेन्टिलेटर र २५ वटा एचडीयू बेड सञ्चालनमा छन् ।

यस अस्पतालमा वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।

Comments
Loading...