मुख्यमन्त्री गुुरुङले आज विश्वासको मत लिँदै, मन्त्री मनाङे विपक्षी गठबन्धनमा

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदैहुनहुन्छ । गत वैशाख २७ गते संसद्को सबैभन्दा ठूलो दलको हैसियतबाट मुख्यमन्त्रीमा नियुक्त गुरुङले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज मत लिन लाग्नुभएको हो ।

प्रदेशसभाको दलिय अवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था देखिएको छैन । मुख्यमन्त्रीको दल नेकपा एमालेका प्रदेशसभामा २७ सांसद छन् । विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ ।

यसैगरी मुख्यमन्त्रीलाई साथ दिँदै आउनुभएका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले पनि मुख्यमन्त्रीको साथ छाड्नुभएको छ । मुख्यमन्त्रीलाई समर्थन गर्दा विपक्षीको सरकार बन्न नसक्ने र प्रदेशसभा विगठन हुने भएपछि मन्त्री गुरुङले सरकारको साथ छाड्दै विपक्षी गठबन्धनतिर लाग्ने निर्णय गरेको बताउनुभएको छ ।

सांसद गुरुङले विपक्षीलाई सहयोग गर्दा विपक्षीको बहुमत पुगेर सरकार बन्ने सम्भावना रहन्छ र प्रदेशसभा पनि विगठनबाट जोगिन्छ ।
काँग्रेसका १५, माओवादी केन्द्रका सभामुख सहित १२, जनता समाजवादीका दुई र राष्ट्रिय जनमोर्चाका दुई सांसद विपक्षी गठबन्धनमा छन् ।

सांसद राजीव गुरुङले विपक्षीलाई सहयोग गरेपछि गठबन्धनबाट मुख्यमन्त्रीमा प्रश्तावित कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । मुख्यमन्त्रीमा नियुक्त भएको खण्डमा नेपालीले पनि ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

Comments
Loading...