कोभिड प्रभावित व्यवसायी उकास्न गण्डकीमा जीवन रक्षा कोष निरन्तर

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ । कोभिडबाट प्रभावित भएका साना तथा मझौला व्यवासायीलाई लक्ष्य गरी सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्बको कोष स्थापना गरेको थियो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रममा यो कोषलाई निरन्तरता दिइने गरी प्रतिबद्धता आइसकको बताउनुभयो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशकसहित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा सोमबार उहाँले भन्नुभयो,‘प्रदेशभित्रका साना तथा मझौला व्यवसायी जो कोभिडबाट प्रभावित भएका छन्, उनीहरुको राहतका लागि यो कार्यक्रम आएको हो, यसले ३ वर्षसम्म निरन्तरता पाउँछ ।

मुख्यमन्त्री पोखरेलले परम्परागत रुपमा ऋण लिने तरिकामा परिमार्जन गरी सहज बनाउन समेत आग्रह गर्नुभयो । ससना व्यवसायीलाई लक्ष्य गरिएको कार्यक्रम भएकाले त्यसै अनुसार प्रोत्साहन गर्न गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुभयो ।निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले प्रदेश सरकारले १ अर्ब लगानी गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट ८ अर्बको हाराहारीमा लगानी हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालय निर्देशक ईश्वरीप्रसाद भट्टराईले सुरुमा कार्यविधिका कारण केही असहज भए पनि अहिले भने प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन भएको बताउनुभयो । यो कार्यक्रमका लागि ६ हजार ७ सय ७८ निवेदन परेको र ७ अर्ब ६६ करोड माग भएको जानकारी दिनुभयो ।

माग अनुसार त्यसमध्ये ४ अर्ब ५४ करोडका लागि पूर्व सहमति प्राप्त भइसकेको छ । उहाँले भन्नुभयो,‘अहिलेकै अवस्थामा वार्षिक ६० करोड व्याजमा खर्च हुन्छ र सरकारले छुट्याएको रकमले अहिलेको अवस्थामा डेढ वर्षलाई पुग्छ ।

कोभिड १९ ले पर्यटन, यातायात, कृषि उत्पादन, तथा सेवा क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारले जीवन रक्षा कोष सञ्चालनमा ल्याएको हो । यसका लागि ४ शीर्षक बनाएर कर्जा प्रवाह गरिएको छ । न्यूनतम ५० हजार देखि १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने र त्यसको ब्याज प्रदेश सरकारले बेहोर्ने गरी कार्यविधि बनाइएको छ । कर्जाको अधिकतम अवधि ३ वर्ष तोकिएको छ ।

Comments
Loading...