बाढी–पहिरोको जोखिमका कारण पोखराका विद्यालय दुई दिन बन्द

हिमाली आवाज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

महानगरपालिकाले आज असोज ८ गते र भोलि असोज ९ गते विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरेको हो । उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखी पूर्वसावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

“सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको हो । यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा महानगरवासी सबैले आवश्यक सतर्कता अपनाई सुरक्षित रहन आग्रह गर्दछु । अहिलेको अवस्थामा सुरक्षा नै पहिलो प्राथमिकता हो,” प्रमुख आचार्यले भन्नुभयो ।

महानगरपालिकाले बिदाको अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

महानगरपालिकाले “सतर्क रहौँ, सुरक्षित रहौँ” भन्दै सम्भावित विपद्का बेला अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त स्थानमा नजानसमेत आग्रह गरेको छ ।

Comments
Loading...