खोप केन्द्रमा मुख्यमन्त्रीको अनुगमन : खोप केन्द्र बढाउन र भीडभाड कम गर्न निर्देशन

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गर्नुभएको छ । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत गुनासा आएपछि मुख्यमन्त्री पोखरेलले आकस्मिक रुपमा अनुगमन गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पोखराको वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । मुख्यमन्त्री पोखरेलले लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग कुराकानी गर्नुभएको थियो ।

अनुगमनपछि मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्न तत्काल प्रहरी संख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिनुभयो । खोप ढुवानीमा समस्या भएको भन्ने गुनासो आएकामा मुख्यमन्त्री पोखरेलले स्थानीयस्तरमा गाडीको प्रबन्ध गरेर पनि केन्द्रसम्म खोप ल्याउन सकिने बताउनुभयो ।

संघ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब विस्तारै सबै उमेर समूहकालाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरीदिन उहाँले आम नागरिकसमक्ष अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो,‘उमेर समूह अनुसार हामीले खोप वितरण गरेका छौं, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौं, हतार नगरिदिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।’

खोप समयमा नआएको, लामो समयसम्म लाइनमा बस्दा पनि खोप नपाइएको, खोप बोक्ने गाडी पर्याप्त नहुँदा धेरै बेरसम्म कुर्नु परेको गुनासो सेवाग्राहीको थियो । वडा कार्यालयहरुले चेकलिस्ट बनाएर त्यसैका आधारमा नाम टाँसिदिएमा भीडभाड कम हुने सुझाव सर्बसाधारणलले दिएका छन् । खोप केन्द्रहरुमा पु¥याइएका खोप कार्ड हराएको र कतिपयले त ती कार्डमा आफैले भरेर दोस्रो डोज भन्दै पहिलो डोज लगाउन लाइनमा बसेको गुनासो समेत गरेका थिए ।
अनुगमनमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा, जिल्ला स्वास्थ्य कार्यालय र महानगर स्वास्थ्य महाशाखा प्रमुख सहभागी रहनुभएको थियो ।

स्वास्थ्य सचिव शर्माले सोमबार सुरु भएको यो चरणको खोप अभियान मंगलबार सकिने र त्यसपछि कोभिसिल्डको दोस्रो डोज लगाउन थालिने जानकारी दिनुभयो । दोस्रो डोजको कोभिल्डि १ लाख ५० हजार चाहिनेमा प्रदेशमा १ लाख ४७ हजार डोज आएको छ । उद्योगी व्यवसायी लगायत विभिन्न उमेर समूहका लागि प्राथमिकता अनुसार खोप उपलब्ध गराउन लागिएको सचिव शर्माले बताउनुभयो ।

 

Comments
Loading...