हिमाली आवाज । गण्डकी प्रदेशको एक मात्र पोखरा औधोगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औधोगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो ।
औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुग्नु भएका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा औधोगिक क्षेत्रको वस्तुस्थितीको बारेमा समेत जानकारी लिनुभयो ।
औद्योगिक क्षेत्र रहेका व्यवसायी र मजदुरलाई क्रमशः सबैलाई खोप लगाउने बताउँदै मन्त्री शर्माले व्यवसाय आम जीवन सँग जोडिने विषय भएकाले सरकारले प्राथमिकता दिएको बताउनुभयो । कानुन मन्त्री थापाले औद्योगिक क्षेत्रले अति आवश्यक खाद्य तथा अक्सीजन जस्ता सामाग्री उत्पादन गरेकोमा धन्यवाद ज्ञापन गर्दै उद्योगी व्यवसायीहरुको पिर मर्का बुझ्ने काम राज्यले गर्नु पर्ने बताउनुभयो।

पोखरा औधौगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियान सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले थप ध्यान आग्रह गर्नुभयो ।
कोभिड १९को महामारी चलिरहँदापनि औधोगिक क्षेत्रको गतिविधी सुरक्षित तरिकाले सञ्चालन भईरहेको र पूर्व सावधानीको लागि खोप कार्यक्रमले मजदुर तथा व्यवसायी, कर्मचारीहरु उत्साही भएको कायममुकाम प्रबन्धक भूषण कुमार उपाध्यायले जानकारी दिनुभयो ।
करिब तीन हजारको हाराहारीमा उद्यमी व्यवसायी र मजदुरहरु रहेको औधोगिक क्षेत्रमा आज एक हजार खोप लगाईएको हो ।