काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ख को सभापतिमा दीपक विर कुँबरको उम्मेदवारी घोषणा

गणेश पहारी
हिमाली आवाज । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ख को सभापतिमा दीपक विर कुँबरले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पोखरा महानगरपालिका–६ बैदाम निवासी ५० वर्षीय कुँबरले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दै पार्टीलाई एक ढिक्का बनाउन र युवाहरुलाई नेतृत्वमा अगाडि ल्याउने कार्यक्रम सहित आफूँले उम्मेदवारी दिने बताउनुभयो ।

हिमाली आवाजसँगको कुराकानीमा सभापतिका प्रत्याशी कुँबरले आफू ७ वर्षको उमेर हुँदादेखी काँग्रेससँग भावनात्मक रुपमा जोडिएको बताउँदै उहाँले पार्टीको संगठन रफ्तारमा अघि बढाउन र आगामी निर्वाचनमा काँग्रेसको विजय सुनिश्चित गराउनु रहेको बताउनुभयो ।
उहाँले पार्टीका पुराना दस्ताबेजहरुलाई संग्रह गरेर व्यवस्थित रुपमा अभिलेखीकरण गर्ने समेत बताउनुभयो ।

कुँबरले भन्नुभयो,“अहिले पार्टीको संगठन जुन गतिका साथ अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन । युवाहरुको सहभागितामा पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन सभापतिमा उम्मेदवारी दिने निचोडमा पुगेको हुँ ।”आफू सभापतिमा निर्वाचित भएपछि काँग्रेसका तमाम् कार्यकर्तालाई पार्टी मेरो हो भन्ने अपनत्व हुने गरी काम गर्ने र सबैलाई योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिने योजनामा रहेको बताउनुभयो ।पार्टीभित्र देखिएको गुटबन्दीले पार्टी कमजोर हुने भएकाले गुटबन्दी अन्त्य गर्नु समेत आफ्नो मुख्य लक्ष्य हुने कुँबरले बताउनुभयो ।

पार्टीमा लाग्ने प्ररेणा आफूलाई विपी कोइरालाबाट प्राप्त भएको बताउँदै कुँबरले भन्नुभयो,“ विसं २०३५ सालमा सात वर्षको उमेरमा मैले महामानव विपी कोइरालालाई भेट्ने मौका मिल्यो । बैदाम कोमागाने पार्कमा जापानिजले बनाएको कलात्मक घरमा बिपी आउनुभएको थियो । बुबाको साथमा मैलेपनि उहाँलाई भेट्न पाएँ । विपीले बुबासँग गरेका कुराकानीले मलाई छोयो र अप्रत्यक्ष रुपमा मलाई उर्जा मिल्यो ।”

बुबा स्व.बुद्धिबहादुर कुँबर प्रतिबन्धित अवस्थामा कास्की काँग्रेसको जिल्ला सचिव भएकाले घरमा नेताहरुको आउजाउ हुने हुँदा उहाँलाई पार्टीमा लाग्न नेताहरुबाट समेत उर्जा मिलेको उहाँ बताउनुहुन्छ । कास्की काँग्रेसका पुराना नेताहरु मिनबहादुर गुरुङ,प्रेमबहादुर कुँबर,करुणानिधी कोइराला, धिरबहादुर गुरुङबाट उहाँले राजनीतिमा लाग्न थप प्रेरणा मिलेको बताउनुभयो ।

कुँबरले विसं २०४२ को सत्याग्रह आन्दोलनका बेलामा नेताहरु नजरबन्दमा रहेको बेला पार्टीका अति गोप्य चिठी पत्र आदान प्रदान गर्ने भूमिका निर्वाह गर्नुभएको थियो । बहुदलको पक्षमा लागेबापत विसं २०४६ सालको जनआन्दोलनमा उहाँ जेल पर्नुभयो । तत्कालीन अञ्चलाधीस र सिडियोले उहाँलाई ३ महिनाको नजरबन्दको पूर्जी दिएर कारागार चलान गरेका थिए ।

उहाँ युवाअवस्थादेखीने पार्टीका विभिन्न कार्यक्रम तथा आन्दोलनहरुमा अग्रपंक्तिमा रहँदै आउनुभएकाले काँग्रेसका नेता कार्यकर्तासँग समेत उहाँको निकट सम्बन्ध रहँदै आएको छ । विसं २०४७ को माघ ५ देखी ७ गतेसम्म भएको काँग्रेसको राष्ट्रिय महासम्मेलनमा कुँबर कास्की काँग्रेसको प्रतिनिधि भएर महासम्मेलनमा सहभागिता जनाउनुभएको थियो ।

काँग्रेस क्षेत्रीय प्रतिनिधिहरुले आफूलाई विश्वास गरेर भोट दिएर सभापतिमा निर्वाचित गराउने कुँबर विश्वस्त हुनुहुन्छ । नेपाली काँग्रेस वडा नं ६ को पूर्व सभापति समेत रहनुभएका कुँबर हाल निर्वाचित क्षेत्रीय प्रतिनिधि र  नेपाली काँग्रेसको शुभेच्छुक संस्था समन्वय केन्द्रीय विभागको केन्द्रीय सदस्य हुनुहुन्छ ।

Comments
Loading...