पोखरा । कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ ।
हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।
कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । उहाँले मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मुस्ताङ प्रबेश गर्नका लागि कोरोना परीक्षण गरेको पीसीआर परिक्षण रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिइने निर्णय भएको छ ।