स्थापनाको दुई वर्षपछि गण्डकी विश्वविद्यालयमा अध्यापन सुरु

हिमाली आवाज ।गण्डकी प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्य सहित स्थापना गरेको गण्डकी विश्वविद्यालयले दुई वर्षपछि अध्यापन सुरु गरेको छ ।

विश्वविद्यालयले यसैवर्षदेखी देशमै पहिलो पटक खेलकुद व्यवस्थापन विषयमा स्नातक तहमा चार वर्षे ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम), व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (विआइटी) र वि.फार्मेशी विषयमा पठनपाठन शुरु गरेको हो ।

विश्वविद्यालयले विएसएम र विआइटीमा विद्यार्थी भर्ना गरी शुक्रबारदेखी अभिमूखीकरण कार्यक्रम शुरु गरेको र असोज १७ गतेदेखी औपचारिक कक्षा सञ्चालन गरिने विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो वर्ष विएसएममा विषयमा १६ जना, विआइटीमा ३१ जना र विफर्मामा २० जना गरी ६७ जना विद्यार्थी भनाए भएका छन् । विफर्माको पढाई भने दसैँपछि शुरु हुने विश्विद्यालयले जनाएको छ ।

“विश्वविद्यालयको अपेक्षा भन्दा पनि बढी विद्यार्थी भर्ना हुनुभएको छ ।”उपकुलपति देवकोटाले भन्नुभयो,“सरकारको अपेक्षा र विश्विद्यालयको लक्ष्य पूरा गर्न दोस्रो सेमेष्टरमा अहिलेको कोटा अझै वृद्धि गर्दछौँ ।”देशमै पहिलोपटक स्नातक तहमा विएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीहरुलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयले जनाएको छ ।

उपकुलपति देवकोटाका अनुसार अधिकाँस कोर्ष अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ । पाठ्क्रमममा १० देखी १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्यापन हुनेछ ।विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने दक्ष जनशक्ति उत्पादन विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिंदै कुन–कुन मोडलमा अध्ययन गराउन सकिन्छ त्यस बारे विश्वविद्यालय गम्भिर भएर अगाडि बढ्नुपर्दछ ।”

डा.देवकोटाले विश्वविद्यालयको गठन भएको मोडलनै फरक भएकाले विद्यार्थीहरुको भविष्य उज्जवल रहेको बताउनुभयो । “हामी ठिक बाटोमा अघि वढेकालनै अरुले सिको गर्न चाहेका छन् ।”उहाँले भन्नुभयो,“प्रदेश सरकारले विश्वविद्यालय मार्फत प्रदेशलाई शिक्षाको हव मात्रै बनाउन खोजेन त्यसलाई गठन गरेर यहाँ सम्म ल्याएको छ, यो ठूलो उपलव्धी हो ।”

प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मीले खेलकुद पर्यटनको विकास हुँदै गएको गण्डकी प्रदेशमा खेलकुद व्यवस्थापन विषयको अध्यापनले बजारको माग अनुसारका चाहिने दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...