‘अर्ली इलेक्सन’मा जान जरुरी छैन,तीनवटै चुनाव एकैपटक गरौँ : अध्यक्ष नेपाल

हिमाली आवाज । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,“किन अर्लिमा जानु ? अर्लिमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन । तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो ।”निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागि समेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा अध्यक्ष नेपालले जोड दिनुभयो ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने दावी गर्नुभयो ।

“बामपन्थी पार्टीहरु मिलुन्, सबै कम्युनिष्टहरु एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला ।त्यो राम्रो कुरा पनि हो । तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।”

एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै उहाँले अहिले एमालेमा बसेकाहरुको बेहाल भएको र भविष्य समेत नरहेको जिकिर गर्नुभयो ।एकीकृत समाजवादीलाई विचार र नीति प्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गर्ने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलृर अघि बढ्ने अध्यक्ष नेपालले बताउनुभयो ।

महासङ्घ प्रदेश समितिका महासचिव गोविन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यदुनाथ बञ्जाराले गर्नुभएको थियो ।

Comments
Loading...