गण्डकीलाई सडक मानवमुक्त प्रदेश घोषणा

हिमाली आवाज । गण्डकी प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बिहीबार पोखरामा आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गर्नुभयो ।

प्रदेश सरकारको अभिभावकत्वमा ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ८५ वटै पालिकाका तथा मानव सेवा आश्रमको सहकार्यमा सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश घोषणा गरिएको सरकारले जनाएको छ ।

सडक मानव व्यवस्थापनका लागि प्रदेश सरकारले मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । यसका लागि प्रदेश सरकारले आश्रममा रहेकाहरुलाई प्रतिव्यक्ति मासिक रु तीन हजार उपलब्ध गराउनेछ ।सडकमा आश्रित मानिसहरुको उद्धार गरी मानव सेवा आश्रममा राखेर सडक मानवमुक्त बनाउने योजना छ ।अहिले मानव सेवा आश्रमले गण्डकीका चार जिल्लामा सेवा सञ्चालन गर्दै आएको छ । ती केन्द्रमा हाल ४०० जना आश्रित छन् ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार भौतिक विकास मात्र नभई सामाजिक विकासका क्षेत्रमा समेत क्रियाशील रहेको बताउनुभयो ।पर्यटकीय नगरी पोखरामा सडकमा आश्रित मानवका कारण नकारात्मक सन्देश गइरहेको र अभिभावकविहीनलाई संरक्षण गर्ने दायित्व प्रदेश सरकारको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामी बाटोघाटो पनि बनाउँछौं, त्यसका अतिरिक्त सामाजिक क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेका छौं ।”
मन्त्रालयले कोरोनबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि राहत वितरण समेत सुरु गरेको छ ।

Comments
Loading...