पोखराको घरेलु मैदानमा मनाङको जित, पुलिस क्लब पराजित

हिमाली आवाज । मनाङ मस्र्याङदी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’को शीर्ष स्थानमा उक्लिएको छ ।
लिगको पाँचौ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’ पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबमाथि ३–१ गोल अन्तरको जित निकाल्दै मनाङ लिग तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोलको मद्धतमा मनाङले पुलिसलाई पोखरा रङ्गशालामा पराजित गरेको हो ।प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टोलीले समान एक÷एक गोल गरेपनि दोस्रो हाफमा भने मनाङले दुई गोल थप्दै महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।

खेलको १० औँ मिनेटमा विष्टले गोल गर्दै मनाङको अग्रता बनाउनुभयो । उहाँले रक्षक दिनेश राजवंशीको लामो पासमा विपक्षी टोलीका गोलकिपर रोशन खड्का पेनाल्टी एरियाबाट बाहिर आएको मौकामा गोल गर्नुभयो ।

खेलको ३५औं मिनेटमा पुलिस क्लबले गोल गर्दै खेल बराबरीमा ल्यााये । मनाङका रक्षक सरोज योञ्जन लामाले डिबक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईलाई फाउल गरेपछि पुलिसले पेनाल्टी पायो । पेनाल्टीमा पुलिसका सुमना लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काउनुभयो ।
मनाङले दोस्रो हाफमा अञ्जन विष्टको प्रि–किक गोल मार्फत खेलमा पुनः अग्रता बनायो ।

७३औं मिनेटमा अञ्जनले विपक्षी टोलीका खेलाडीले बल हातले छोएपछि पाएको किकमा सुन्दर गोल गर्नुभएको थियो । मनाङका निशान लिम्बुले ८३ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । लिम्बुले ओलावालेको पासलाई उपयोग गरी गोल गर्नुभएको थियो ।

मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा आएको थियो । खेलमा दुबै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

पुलिसँगको खेलमा जित हात पारेपछि मनाङ १३ अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अङ्क सहित मच्छिन्द्र फुटबल क्लब दोस्रो तथा त्रिभुवन आर्मी र सङ्कटा क्लब समान नौ अङ्क सहित क्रमश ः तेस्रो र चौथो स्थानमा छन् ।

मनाङले आगामी पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग पोखरा रङ्गशालामा खेल्ने तालिका छ ।
खेलपछिको पत्रकार सम्मेलनमा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले घरेलु मैदानमा पहिलो खेल कठिन भएको बताउनुभयो ।

खेलको दोस्रो हाफमा रणनीति परिर्वतन गरेपछि जित सम्भव भएको उहाँले प्रतिक्रिया दिनुभयो । पुलिसका प्रशिक्षक अनन्तराज थापा भने सम्मेलनमा अनुपस्थित रहनुभयो ।

Comments
Loading...