कोरोनाका कारण रङ्गशालामा दर्शक बिनै आहा ! रारा गोल्डकप

कृष्ण दवाडी
हिमाली आवाज । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिता यस वर्ष रङ्गशालामा दर्शक बिनै सञ्चालन हुने भएको छ ।

पोखरा रङ्गशालामा यही माघ ६ देखी १५ गतेसम्म सञ्चालन हुने २० औं संस्करण प्रतियोगिता कोरोना भाइरसको बढ्दो सङ्क्रमण जोखिमका कारण दर्शक नराखेर भएपनि सञ्चालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित प्रतियोगितामा नेपालका ए डिभिजनका क्लबहरु, आयोजक सहारा र एक विदेशी सहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले जानकारी दिनुभयो । उहाँले मोफसलको उत्कृष्ट प्रतियोगिता भएकाले कठिन अवस्थामा पनि यसलाई निरन्तरता दिन र प्रशासनको आग्रह अनुसार यस वर्ष टिकट बिक्री नगरिने जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई स्व.सूर्यबहादुर केसीको स्मृतिमाक जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’लाई रु आठ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ । सो पुरस्कारको प्रायोजन सहारा युकेले गरेको छ ।

यसैगरी प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र नेपाल एपीएफ क्लबकाबीचमा हुने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो ।

विसं २०५५मा स्थापना भएको सहारा क्लब पोखराले आयोजन गर्ने यस प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ ।

क्याराभान गोल्ड कप सहित यस प्रतियोगिता २१ वर्ष देखी निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित ‘सूर्य बहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आइएको क्लबका महासचिव अधिकारीले जानकारी दिनुभयो ।

हाल तेश्रो व्याचको रुपमा सो एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विसं २०६१ देखी आश्रित बालकहरुको भरणपोषण आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण लगायतका कार्य क्लबले गर्दै आएको छ ।

प्रतियोगिताले पर्यटकीय शहर पोखरालाई स्पोर्टस् हब सिटीका रुपमा परिचित गराउँदै पर्यटन प्रवद्र्धन र नवप्रतिभावान फुटबल खेलाडीहरुलाई खाफ्नो खेल कौशल प्रदर्शनको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

Comments
Loading...