पोखरा,१५ माघ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रदेश सरकारको सञ्चार विधेयकलाई पत्रकारिताको भावना अनकुल हुने गरी सञ्चारमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश समिति, कास्की शाखा र पोखरा महानगरले आज पोखरामा आयोजना गरेको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उहाँले विधायन समितिमा रहेको सञ्चार विधेयक स्वतन्त्र प्रेसको मर्म र भावना अनुसार बनाइने उल्लेख गर्नुभयो ।उहाँले पत्रकारितासँग सम्बन्धित सङ्घ संगठनसँग छलफल गरी प्रेसमैत्री बनाउने बताउनुभएको हो ।

नेपाली पत्रकारितामा जनपक्षीय पत्रकारिताको खाँचो अझ बढेको बताउँदै उहाँले प्रेस सेन्टरमा आवद्ध सञ्चारकर्मीहरुले जनताका समस्या, पीर मर्का र गुनासाहरुलाई कलमका माध्यमबाट उजागार गर्नुपर्ने उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो,“जनपक्षिय पत्रकारिताको खाँचो अहिलेपनि छ । कृष्ण सेन इच्छुक लगायतका शहीदहरुको योगदानको कदर गर्दै उहाँले देखेका सपना सञ्चारकर्मबाट पूरा गर्न यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
कार्यक्रममा प्रेस सेन्टर गण्डकीका इन्चार्ज एवं पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले बलिदानी संघर्षबाट स्थापित भएको प्रेस सेन्टर देशकै प्रमुख र निर्णायक संगठन रहेको बताउनुभयो । सेन्टरले नेपाली पत्रकारिताको विकासको अगुवाइ गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्ले, प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, सचिव पुष्पराज दाहाल, पोखरा महानगरका अध्यक्ष शिवराज वस्ताकोटी लगायतले सञ्चारकर्मीको हक हित सहित पत्रकारिताको गुणात्मक विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि सञ्चारकर्मीहरुलाई मास्क लगायतका स्वास्थ्य सामग्री वितरणको सुरुआत गरिएको थियो ।
प्रेस सेन्टर कास्कीका अध्यक्ष दवाडीले जिल्लाका सबै क्रियाशील सञ्चारकर्मीहरुलाई मास्क वितरण गरिने जानकारी दिनुभयो ।