पोखरामा बिबिसीमाथि मनाङको कठिन जित,एएफसी खेल्ने सम्भावना कायमै

–कृष्ण दवाडी
हिमाली आवाज । घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब(बिबिसी) माथि १–० को जित निकाल्दै मनाङ मस्र्याङदी क्लब ‘शहीद स्मारक ए डिभिजन लिग’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान पोखरा रङ्गशालामा आज आफ्नो दोस्रो खेलमा मनाङले बिबिसी माथि कठिन र सङ्घर्षपूर्ण जित निकाल्दै लिगको अङ्क तालिकाको पहिलो स्थानमा उक्लिन सफल भयो । यससँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना पनि कायमै राखेको छ ।घरेलु मैदानमा दोस्रो खेल खेल्ने क्रममा मनाङलाई बिबिसीले दवावमा राखेको थियो । पहिलो हाफको इन्जुरी समयमा मनाङले कप्तान अञ्जन विष्टको गोलमार्फत खेलमा अग्रता बनायो ।

मनाङका विदेशी खेलाडी दयानन्न सिँहको पासमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित विष्टले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउनुभयो ।

यसअघि खेलको १५ औँ मिनेटमा बिबिसीले अग्रता बनाउने सुन्दर मौका खेर फाल्यो । मनाङका डिफेण्डर आदित्य चौधरीले बिबिसीका शिशिर लेखीलाई हाफल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकामा लेखीको पेनाल्टी प्रहार पोष्टमाथिबाट आकाशियो ।

घरेलु मैदानमा मनाङले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न नसक्दा खेल अवधिभर दवावमा परेको थियो । बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन ।मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दवावमा थियो । एएफसि कपमा सहभागिता जनाउने आफ्नो गणितिय सम्भावना कामयै राख्न समेत आजको खेल जित्नै पर्ने दवाव थियो मनाङ । लिगको छैटौँ चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग पराजित भएपछि मनाङको एएफसी कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो ।

बिबिसीसँँगको खेलपछि मनाङ १६ अङ्क सहित लिगको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । मनाङ भन्दा एक खेल कम खेलेको मच्छिन्द्र फुटबल क्लब १४ अङ्क सहित दोस्रो स्थानमा छ ।मनाङको ध्यान बिबिसीसँग खेलपछि अब मछिन्द्र र नेपाल पुलिस क्लबबीच आइतबार हुने खेलमा हुनेछ । पुलिससँग मछिन्द्र पराजित वा बराबरी खेलेको अवस्थामा मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाउने छ ।मछिन्द्र विजयी भएको अवस्थामा भने मनाङको एएफसी खेल्ने सम्भावना अन्त्य हुनेछ र मछिन्द्र एएफसीका लागि छनोट हुनेछ ।
खेलपछि पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक राजेन्द्र तामाङले टिमले स्वभाविक खेल खेल्न नसकेको स्वीकार गर्नुभयो ।

आफ्नो टोलीलाई भाग्यले ठूलो साथ दिएको र खेल जितको बताउँदै उहाँले योजना अनुसार खेल्न नसकेको र तालमेल नमिलेको बताउनुभयो । खेल जस्तो भएपनि तीन अङ्क जोड्न पाउँदा उहाँले खुःशी व्यक्त गर्नुभयो ।

विविसिका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो र दोस्रो हाफमा दुबैमा राम्रो खेलेर गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसकेको बताउनुभयो । पेनाल्टी सदुपयोग गर्न नसक्नु र दुई वटा बल पोलमा लाग्नु टोलीका लागि दुर्भाग्य भएको उहाँले उल्लेख गर्नुभयो ।

जारी लिगका तीन खेल मनाङले आफ्नो घरेलु मैदान पोखरामा खेल्ने तालिका रहेकामा यसअघि नेपाल पुलिस क्लबसँग खेलिसकेको छ ।
मनाङ पुलिससँग ३–१ गोल अन्तरले विजयी भएको थियो । मनाङले अव आगामी पुस २४ गते च्यासल युथ क्लबसँग पोखरामा खेल्नेछ ।

Comments
Loading...