गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव : कोरोनाका कारण भर्जुअल कार्यक्रम

हिमाली आवाज । गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा परेको र नेपालको राज्य एकीकरण पनि यहीँबाट सुरु भएको जनाउँदै यहाँ गरिने जुनसुकै निर्णयले समग्र राष्ट्रमा नै महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो ।

विकासका निम्ति सधैं आकांक्षी हुनुपर्ने उल्लेख गर्दै उहाँले सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । केन्द्रमुखी प्रवृत्ति अझै पनि कायम रहेको जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले प्राप्त अधिकारलाई कार्यान्वयन गरी प्रयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले देशमा तीन तहका सरकार गठनले राज्यले जनतासम्म पुग्ने आधार फराकिलो बनाएको बताउनुभयो । केन्द्रमा मात्र निर्भर हुने अवस्था कम हुँदै गएपछि नागरिकका चाहना पनि बढेको र सरकारप्रतिको आशा तथा भरोसा बढेको उहाँको भनाई छ ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशलाई सबै किसिमबाट पहिलो प्रदेशका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो प्रदेशसभा गठनको यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाउँदै उनले यसको कार्यान्वयनका लागि लाग्नुपर्ने भनाई उहाँको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश सङ्घीय पद्धतिमा गइसकेपछिका चार वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । गण्डकी प्रदेशमा समझदारीपूर्ण तवरबाट नामाकरण, राजधानी जस्ता विषय टुङ्गिएको जनाउँदै उहाँले पारित ऐन कानुनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य विनोद चौधरीले प्रदेशसभा गठनका यस अवधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा राख्नुभयो । संविधानसभा सदस्य एवं प्रतिनिधिसभा सदस्य देव गुरुङले सङ्घीयताको मर्मअनुसार जनतालाई अधिकतम सेवा सुविधा दिने गरी लाग्न आग्रह गर्नुभयो ।
प्रदेशसभा उपसभामुख सिर्जना शर्माले यसबीचमा प्रदेश सभाबाट विभिन्न महत्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो ।

प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले प्रदेश सभाले हालसम्म ५० वटा कानुन पारित गरेको भन्दै ती कानुनले नागरिकको हितमा कति काम गरेका छन् भनेर समीक्षा गरिनुपर्ने बेला अब आइसकेको बताउनुभयो ।

 कम्प्युटर अधिकृत रविन्द्र घिमिरेले प्रदेशसभाका गतिविधिबारे जानकारी गराउनुभएको थियो । प्रदेशसभा सचिवालयले तयार गरेको स्मारिका मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारी, उपसभामुख शर्माले सामूहिक रुपमा विमोचन गर्नुभयो ।

Comments
Loading...