कोरोनाका समयमा ‘हेल्मेट डाक्टर’ सेवा प्रभावकारी

हिमाली आवाज । स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेपाल विकास समाजले कोरोना संक्रमणका बेला सञ्चालन गरिएको ‘हेल्मेट डाक्टर’ सेवा प्रभावकारी भएको जनाएको छ ।

समाजले कास्कीको साविक लेखनाथ नगरपालिका र रुपा गाउँपालिकामा मधुमेह रोकथाम, उच्च रक्तचाप, महिलाको पाठेघरको मुखको क्यान्सर व्यवस्थापन लगायत स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको  छ ।

नेपालमा कोरोना सुरु भएपछि  संस्थाले रुपा गाउँपालिकामा हेल्मेट डाक्टर सेवा मार्फत स्वास्थ्य संस्था र नागरिकहरुलाई सेवा प्रदान गरेको र सो सेवा प्रभावकारी बनेको नेपाल विकास समाजका प्रोजेक्ट म्यानेजर पवित्रबाबु सोतीले बताउनुभयो ।

पत्रकारका लागि सो संस्थाले आज पोखरामा आयोजना गरेको मधुमेह रोकथाम र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले हेल्मेट डाक्टर कार्यक्रम मार्फत स्वास्थ्य संस्थामा डाक्टर र औषधि व्यवस्थापन गरिएको बताउनुभयो । कोरोनाका समयमा रुपाका ९०० जनाले औषधी र दुई हजार जनालाई चिकित्सकीय सेवा प्रदान गरिएको सोतीले जानकारी दिनुभयो ।

मधुमेह, उच्चरक्तचाप, क्यान्सर लगायतका नसर्ने रोग समयमै पहिचान गर्दा त्यसबाट हुने दुर्घटनाबाट बच्न सकिने भएकाले रोग पहिचान र उपचारका कार्यक्रममा संस्थाले काम गर्दै आएको विकास नेपालले जनाएको छ  ।

Comments
Loading...