सैनिक अस्पतालद्धारा पोखरा बृद्धाश्रममा स्वास्थ्य शिविर

हिमाली आवाज । पोखरा बृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।

शिविरमा सैनिक अस्पतालका डा. अमृत घिमिरे, डा. स्वेता राज्यलक्ष्मी राणा, डा. शिशिर श्रेष्ठ, डा. अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेल सहितको १३ सदस्यीय टोलीले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिविरमा पोखरा बृद्धाश्रम र आसपासका ५३ जना जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै दुई लाख मुल्य बरावरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो ।

आश्रममा आयोजित शिविरको नेपाली सेना फुलवारी पोखराका प्राविधिक सहायक रथी डा. भुवनराज कुँवरले शुभारम्भ गर्दै सेना नागरिक समाजसंग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताउनुभयो ।

विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा बृद्धाश्रममा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिदैं उहाँले राज्य र नागरिकलाई पर्ने जस्तो सुकै अप्ठेरोमा पनि नेपाली सेनाले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका जेष्ठनागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको जानकारी दिनुभयो ।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित जेष्ठनागरिकहरुलाई भोजन भन्दा पनि औषधि उपचारमा बढी खर्च हुने गरेको बताउनुभयो ।बृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवम् अपहेलित ५५ जना जेष्ठनागरिक आवद्ध रहनु भएको कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...