हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर समितिमा निर्वाचित अध्यक्ष लगायतका पदाधिकारीको पदस्थापन गरिएको छ ।
शिवालयचोकस्थित पार्टी कार्यालयमा आज नवनिर्वाचित अध्यक्ष हरिनारायण गिरी(विज्ञान) लगायतका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटीका सदस्य एवं गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पदस्थापन गराउनुभयो ।
उहाँले निर्वाचित पदाधिकारीहरुलाई माला तथा खादा लगाएर सम्मान गर्दै निर्वाचित टिमले पोखरामा पार्टी संगठनलाई नयाँ उचाईमा पु¥याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

माओवादीले शुक्रबार मतदानका माध्यमबाट पदाधिकारी चयन गरेको थियो । महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी, उपाध्यक्षमा हर्कमान विश्वकर्मा,भानुभक्त अधिकारी र विमला पहारी , सचिवमा जनकराज पराजुली, सहसचिवमा इश्वरी प्रसाद लम्साल र कोषाध्यक्षमा बुद्धिमाया गुरुङ निर्वाचित हुनुभएको थियो ।
पदस्थापन कार्यक्रममा पार्टीका जिल्ला संयोजक बखानसिँह गुरुङ, महानगर कमिटीका निर्वतमान अध्यक्ष विश्वप्रकाश लामिछाने, पार्टीका प्रदेश कमिटीका सदस्यहरु लगायत उपस्थित हुनुहुन्थ्यो ।
नवनिर्वाचित अध्यक्ष गिरीले भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरमा पार्टीलाई एक ढिक्का बनाएर स्थानीय तहको निर्वाचनमा होमिने बताउनुभयो ।
महानगरका ३३ वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना, उम्मेदवार चयन लगायत निर्वाचन केन्द्रीय पार्टी गतिविधिलाई तत्कालै शुरु गरिने उहाँले जानकारी दिनुभयो ।