हिमाली आवाज । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिनुभएको छ ।
सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उहाँले कतिपय योजना ठेकेदारले अलपत्र बनाएको तर आफ्नो नेतृत्वले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्नै नदिने दावी गर्नुभयो ।
मादी ९ र १२ जोड्ने पुल, सौर्य–माझठान–मिजुरे सडक, मादी ५ र पोखरा १३ जोड्ने पुल अलपत्र परेको महेन्द्रले दावी गर्नुभयो । ‘विकासका योजना अलपत्र पार्ने ठेकेदारलाई घोक्रेठ्याँक लगाएर तह लगाउँछु,’ प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो ‘चुनाव जित्यौं भने त्यसरी काम अलपत्र छोड्ने ठेकेदारलाई मादीमा प्रवेश निषेध गर्छौं । हामीलाई विकास–निर्माण चाहिएको छ । काम नगर्नेबारे बोल्न म पछि पर्ने छैन ।’
विपक्षी पार्टीले आफू र एमालेविरुद्ध फैलाएका भ्रममा नपर्न मतदातालाई आग्रह गर्नुभयो । एमालेको खेदो खन्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उहाँले प्रतिस्पर्धी पार्टीलाई सुझाव दिनुभयो । ‘पार्टी गतिलो भएको भए नेता–कार्यकर्ताले नेकपा एमाले रोज्ने थिएनन् । आफ्नो पार्टी सम्हाल्नुस्, खेदो खन्ने काम नगर्नुस् । अरुको खेदो खन्न थाले तिमी कमजोर हुन्छौ र आफैं नांगिन्छौ,’ उहाँले भन्नुभयो ।


