हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सवैभन्दा ठूलो पोखरा महानगर पालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पोखरामा शनिबार दिउँसोसम्म ८६ हजार २५७ मत गणना सकिएकामा आचार्यले ३४ हजार ८१९ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का कृष्ण थापाले ३१ हजार ३७४ मत सहित पछ्याइरहनुभएको छ । प्रमुखमा आचार्य र थापाको मतान्तर तीन हजार ४४५ रहेको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले तीन हजार ८८१ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले दुई हजार ३५० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी महानगरको उपप्रमुखमा नेकपा (एमाले)का मञ्जुदेवी गुरुङले ५१० मतले अग्रता बनाउनुभएको छ । गुरुङले ३५ हजार ७९९ मत प्राप्त गर्दा रानाभाटको ३५ हजार २८९ मत ल्याउनुभएको छ । गणनाको सुरुआतदेखी अग्रता बनाउनुभएका रानाभाट शुक्रबार रातिदेखी गणनामा पछि पर्नुभएको हो ।
पोखरा महानगरका ३३ वडा मध्ये हालसम्म १९ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १५ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ ।


