हिमाली आवाज । पोखरा महानगरपालिकाले आगामी तीन महिना भित्रमा महानगरका सबै घर कम्पाउडमा विरुवा रोप्ने भएको छ ।
पर्यटकी शहर समेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्य रुपमा वृक्षरोपण कार्यक्रममा सहभागी गराउने भएको हो ।
महानगर प्रमुख धनराज अचार्यले आज ५० औँ विश्व वातावरण दिवसको सन्दर्भ पारेर महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अवको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार एक घर एक बृक्षरोपण कार्यक्रमका लागि महानगरलेनै आवश्यक विरुवा नगरवासीलाई उपलव्ध गराउने र वातावरण शाखाले तयारी अगाडि बढाउने छ ।
केही वर्ष अगाडि पोखराको बीच भाग भएर बग्ने सेती नदीमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उहाँले भन्नुभयो,“वातावरणीय सन्तुलन कायम राख्नका लागि बृक्षरोपण अनिवार्य छ । सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गर्नेछौँ ।”

पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र वर पिपल मासिएका उल्लेख गर्दै महानगर प्रमुख आचार्यले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसंग बसेर निष्कर्षमा पुगिने बताउनुभयो ।
उहाँले भन्नुभयो,“विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए । चौताराहरु थिए । प्रशस्त वर पिपलका विरुवाहरु थिए, ति सबै मासिए । अव जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्नेछौं, पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं ।”प्रमुख आचार्यले खाली जमिनमा बृक्षरोपण कार्यक्रम गर्न पोखरा स्थित सम्पूर्ण सङ्घसंस्थाहरुलाई आग्रह गर्नुभयो ।
महानगरले पोखरा– २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर बृक्षरोपण गरेको छ । सोही वडाका वडाध्यक्ष भरतबहादुर अधिकारीले विभिन्न प्रजातिका २०० भन्दा बढी विरुवा रोपिएको जानकारी दिनुभयो ।
वडाध्यक्ष अधिकारीले अहिले वडावासी दाजुभाई दिदिबहिनी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनु पर्ने अवस्था रहेको भन्दै सोको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टै सम्पन्न गरेर वडावासीलाई खानेपानी उपलब्ध गराउने योजनामा रहेको अधिकारीले बताउनुभयो ।