पोखराको सार्वजनिक जग्गा भाडामा दिने सम्झौता रद्ध गरेर दोषीलाई कारवाही गर्न माओवादीको माग

हिमाली आवाज । नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्गा निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्न गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिँदैन ।’ सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया मिचेर व्यक्तिगत लेनदेनमा यस्तो सम्झौता भएको अध्यक्ष गिरीको भनाई छ ।

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले बिदाइ हुनु २ दिनअघि ३ ठाउँका ६८ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिने निर्णय गर्नुभएको थियो । पोखरा उपत्यका नगर विकास समितिको मातहतमा रहेका ती जग्गा निकै सस्तो भाडादरमा निजी क्षेत्रलाई दिइएको छ ।

पर्यटन बसपार्क र गल्फकोर्स र पृथ्वीचोकको यातायात कार्यालय छेउको जमिन जिसीले प्रक्रिया मिचेरै भाडामा दिएको खुलेको छ । महानगरका मेयर नै उपत्यका नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था छ । समितिका सदस्य सचिव र सदस्यहरुलाई थाहै नदिई जिसीले सम्झौता गरेको पुष्टि भएपछि यसको चौतर्फी विरोध भएको छ ।

मेयर धनराज आचार्यले सम्झौताबारे आफूलाई सोमबार मात्र थाहा भएको जनाउँदै आवश्यक छानबिन गरी कानुन अनुसार अघि बढ्ने बताउनुभएको छ ।

Comments
Loading...