हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक खरीबोटका एक किशोर चारदिनदेखी बेपत्ता भएका छन् ।
सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउसोदेखी घरबाट बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा छन् ।
सो दिन विहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गएपनि किशोर घरमै थिए । दिउसो ३ः०० आमा मेलाबाट फर्किदा घरमा नभएपछि त्यसपछि निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार किशोर बेपत्ता भएको दिन दिउसो १ः०० बजेतिर छिमेकीले घरदेखी अन्दाजी पाँच किमी टाढा पोखरा–१९ लामाचौर चोकमा देखेको बताएपनि त्यसपछि केही जानकारी प्राप्त भएको छैन । किशोरको साथमा रहेका मोवाइल, पैसा र पर्स लगायतका सामग्री पनि घरमै फेला परेको छ ।
विद्यालयमा सञ्चालन भइहरेको परीक्षामा आइतबार घर्तीमगर अनुपस्थित भएपछि विद्यालयले पनि खोजी गरेको थियो ।
प्रधानाध्यापक पोखरेलले भन्नुभयो,“विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले अनुपस्थित भएपछि घरमै गएर सोधपुछ गर्दा विद्यार्थी घर्तीमगर सम्पर्क विहीन भएको जानकारी पायौँ, त्यसपछि विद्यालयले पनि धेरै ठाउँमा सम्पर्क गरेर खोजविन गरेपनि फेला पार्न सकेका छैनौँ । खोजीका लागि प्रहरी र गाउँपालिकामा समेत आग्रह गरेका छौँ ।”
किशोरको घरको आर्थिक अवस्था कमजोर रहेको छ । बाबुआमा सामान्य मजदूरी गरेर घर व्यवहार चलाउँदै आएको र सन्तान हराएपछि आफन्त लगायत धेरै ठाउँमा खोजतलास गर्दा समेत फेला नपरेपनि परिवार चिन्तामा परेको विद्यालयले जनाएको छ ।

