हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि हालका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।भदौ २४ र २५ गते हुने महाधिवेशनमा पोखरेलले आफ्नो प्यानल सहित आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा मुना बास्तोला, महासचिवमा केशबबहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी उम्मेदवार हुनुहुन्छ ।
यसैगरी सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बाटाजु, माधव वस्ताकोटी, उदय केसी(लाहुरे दाई), दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्ण कोइराला र हिमनिधि लौडारी हुनुहुन्छ ।

अध्यक्षका प्रत्याशी पोखरेलले सर्वसम्मत नेतृत्वका पक्षमा आफू रहेपनि निषेध गर्ने अवस्था आएपछि एक्लै भएपनि चुनाव लड्ने घोषणा गरेको र अहिले अनुभवी र व्यावसायिक टिम तयार भएको बताउनुभयो । उहाँले पूर्वअध्यक्षहरुबाट पनि टिम बनाएर अघि बढ्न र विजयीको आर्शिवाद प्राप्त भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष पोखरेलले उद्योग वाणिज्य संघकमा आकर्षण बढाउने र सबै पोखरेलीको साझा घरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“ पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व लिएको पोउवासंघ विस्तारै समुदायबाट टाढा हुँदै गएको अनुभुति पोखरेलीमा भएको छ । हिजोका दिनमा अग्रजहरुले जसरी संघलाई समुदायसँग जोडेर आफ्ना अभियानहरु चलाउनुभएको थियो, त्यस्तै आकर्षण आगामी दिनमा बढ्नेछ । ”
पोखरेलले आगामी कार्यकालमा उद्योग वाणिज्य संघलाई आर्थिक रुपमा सवल र सक्षम बनाउने तर्फ केन्द्रित हुनेर संघको हालको भवनलाई पुनःनिर्माण गरी बहुतले भवन बनाएर व्यापारिक प्रयोजनमा उपयोग गरिने बताउनुभयो ।