पोखराका पत्रकार श्रेष्ठ घरभाडा सरोकार समितिबाट सम्मानित

पोखरा,१८ भदौ । पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित हुनुभएको छ ।
समितिको आज पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै उहाँलाई नगद रु १० हजार १००, दोसल्ला र प्रसंसापत्रबाट सम्मान गरिएको हो ।

नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल,घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमल न्यौपाने लगायतले पत्रकार श्रेष्ठलाई सम्मान गर्नुभयो ।

पत्रकार श्रेष्ठ विगत दुई दशकदेखी पोखरामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ हाल नागरिक दैनिक तथा एभेरष्ट एफएम र एभरेष्ट आवाज अनलाईनमा आवद्ध हुनुहुन्छ । संस्थाले पोखरामा क्रियाशील एक जना पत्रकारलाई अधिवेशनका समयमा सम्मान गर्दै आएको छ ।
कार्यक्रममा नेपाल घरबहाल सरोकार महासंघका अध्यक्ष खनालले राज्यले घरबहाल कर निर्धारण गर्नुपर्ने बताउँदै घरबहाल कर नतोक्दा घरधनीले आफूखुशी तरिकाले घरभाडा लिने र कर भने नतिर्ने गरेको बताउनुभयो ।

“घरभाडामा बस्नेलाई गोदेर लिने अनि राज्यलाईचाहिं नतिर्ने प्रवृत्ति छ । त्यसैले राज्यले मालपोत कर लिएजस्तै राज्यले घरबहाल करपनि तोकोस् ।” खनालले भन्नुभयो ।

अध्यक्ष खनालले घरबहाल सम्बन्धी एकीकृत कानून निर्माण गर्नुपर्ने आवश्यक्ता औँलयाउदै संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारलाई ज्ञापनपत्र बुझाउँदापनि सुनुवाई नभएको बताउनुभयो ।घरबहालमा देखिएको विकृति, विसंगति तथा घरधनी र घरभाडामा बस्नेबीच देखिएको समस्या समाधानका लागि घरबहाल सम्बन्धी कानून आवश्यक परेको उहाँको भनाई छ।

अध्यक्ष खनालले घरबहालमा बस्नेलाई राज्यले दोश्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेको र कोरोनाकाल लगायतका समस्यमा पर्दा राज्यले राहत नदिएर विभेद गरेकोसमेत उल्लेख गर्नुभयो ।नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरभाडा सरोकार समिति घरधनी र घरभाडामा बस्ने दुबैको साझा संस्था भएको बताउनुभयो ।

कार्यक्रममा कोरोना महामारीका समयमा घर बहालमा बस्नेलाई एक वर्षको घरभाडा रु छ लाख ६० हजार मिनाह गर्नुभएका पोखरा–९ निवासी चन्द्रमान गुरुङ र संस्थाका सचिव नारायण सुवेदीलाई पनि प्रसंसापत्रबाट सम्मान गरिएको थियो ।

Comments
Loading...