नवौँ राष्ट्रिय खेलकुद :खेलकुदमन्त्री गहतराज पोखराको कार्यकारी समितिको सचिवालयमा

हिमाली आवाज । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज(अथक)ले पोखरा रंगशलामा रहेको राष्ट्रिय खेलकुद मुल आयोजक समिति कार्यकारी समितिको सचिवालयबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका बारेमा जानकारी लिनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, राखेप बोर्ड सदस्य राजेश गुरुङ सहित उहाँले आज पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको निरीक्षण तथा तयारीका बारेमा जानकारी लिनुभएको हो ।

आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र रहेका खेल पूर्वाधारका बारेमा उहाँहरुले जानकारी लिनुभयो ।

मन्त्री गहतराजले रङ्गशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, क्रिकेट मैदान, आर्चरी, टेनिस कोर्ट , बहुउद्धेश्शीय कभर्ड हल, ब्याडमिन्टन हल लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नुभएको हो ।राष्ट्रिय खेलकुद मुल समारोह समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री गहतराले कार्यकारी समितिको सचिवालयको समेत निरीक्षण गर्नुभयो ।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत अधिकाँस खेलका खेलस्थल पोखरा रङ्गशाला तोकिएका छन् । राष्ट्रिय खेलकुदको उद्घाटन तथा समापन समारोह पोखरा रङ्गशालामै हुनेछ । राष्ट्रिय खेलकुद अन्तर्गतका ३६ खेल विधामध्येमा १६ वटा खेल पोखरा रङ्गशालाभित्र तय गरिएको छ ।

सो अवसरमा खेलकुदमन्त्री गहतराजले खेल पूर्वाधार स्तरोन्नति र मर्मतको केही काम बाँकी रहेको भए तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभयो । प्रतियोगिताको मिति नजिकिएकाले सरोकारवाला निकायहरुले कामको गति बढाउँदै छिटो सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतियोगिता अन्तर्गतका धेरै काम प्रक्रियागत रुपमा अघि बढेको र मुल आयोजक समिति सहितका उपसमितिहरुबाट व्यवस्थित काम भएकाले प्रतियोगिता सानदार भव्य गरी सम्पन्न गर्न आत्मविश्वास बढेको मन्त्री गहतराजले बताउनुभयो ।

खेलकुदमन्त्रीको उपस्थितिमा बुधबार पोखराबाट राष्ट्रिय खेलकुद अन्तर्गतका ३६ वटै खेलस्थलको सार्वजनिक भएपछि यहाँ राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ । प्रचार प्रसार उपसमितिले बजार क्षेत्रका विभिन्न स्थानमा प्रचार सामग्रीहरु राख्न सुरु गरेको छ ।

नवौँ अन्तर्गतका खेलहरु गण्डकीका ११ जिल्ला मध्ये सात जिल्लामा हुँदैछन् । मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ जिल्ला बाहेक अन्यत्र खेलस्थल तय गरिएपनि अधिकांस खेल कास्की र पोखरा रङ्गशालामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

Comments
Loading...