पोखरा महानगरद्धारा खेल सङ्घलाई खेल सामग्री वितरण

हिमाली आवाज । गण्डकी प्रदेशमा असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सहज बनाउन पोखरा महानगरपालिकाले खेलाडीलाई खेल सामग्री वितरण गरेको छ ।

महानगर खेलकुद विकास समितिले आज महानगर प्रमुख धनराज आचार्यको उपस्थितिमा रु १० लाख बराबरको खेल सामग्री रङ्गशालामा खेलसम्बद्ध सङ्घ संस्था, प्रशिक्षक र खेलाडीलाई वितरण गरेको हो ।

महानगरले बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पोकाइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका खेल सङ्घ, प्रशिक्षक र खेलाडीलाई खेल सामग्री प्रदान गरेको हो । नवौँको अन्तिम तयारीमा रहेका खेलाडीलाई सो खेल सामग्रीले सहयोग पुग्ने विश्वास लिइएको छ ।

करीव ४० वर्षपछि दोस्रो पटक हुन लागेको बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म पोखरा तथा गण्डकीका अन्य जिल्लाहरुमा हुँदैछ । प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशाला रहेको छ ।

खेल सामग्री वितरण गर्दै प्रमुख आचार्यले नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल सङ्घ र खेलाडी लाग्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन । सम्मान त गर्ने हो, त्योसँगै पदक पनि जित्नुपर्छ ।”

प्रमुख आचार्यले प्रतियोगिताका ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

थोरै बजेट भए पनि सके जति खेललाई सामग्री बाँडेर सम्बोधन गर्ने प्रयास गरेको खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले बताउनुभयो । उहाँले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई केही खेल सामग्री प्रदान गरेर आवश्यकता सम्बोधन गरेको स्पष्ट पार्नुभयो ।

महानगर प्रमुख आचार्यले आजनै पोखरा रङ्गशालामा स्थापना गरिएको महानगर खेलकुद विकास समितिको कार्यालय उद्घाटन गर्नुभयो ।
यसअघि खेलकुदको कार्यालय ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रङ्गशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताउनुभयो ।

Comments
Loading...