हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
साथै उहाँले संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएका छ ।
लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी रहेको अध्यक्ष दाहालको भनाई छ ।

सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने र यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको अध्यक्ष दाहालद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
वर्तमान संविधानकै कार्यान्वयनको क्रममा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा ÷ प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रियामा देश रहेको र संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उहाँले अपिल समेत गर्नुभएको छ ।