हिमाली आवाज । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राजमी प्रसाद बराल (जीवन)ले अहिलेको अबस्थामा पोखराको शुन्दरतालाई बचाउन नसकिने बताउनु भएको छ ।
स्वरोजगार निर्माण व्यवसायी समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको त्रैमासिक भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बरालले पोखराको शुन्दरता बचाउन केही अठोट गर्नुपर्ने अन्यथा अहिलेको अबस्थामा पोखराको शुन्दरता बचाउन नसकिने बताउनु भएको हो ।
पोखराका धेरै सार्वजनिक जग्गा अतिक्रमणमा परेको मन्त्री बरालले बताउनु भयो । उहाँले भन्नु भयो“ पोखरा एउटा तालनगरी हो तर यहाँका ताल तलैयाहरु हामीले बचाउन सकिएको छैन, तालहरु अतिक्रमणको चपेटामा परेका छन्, हाम्रा टोल टोलमा रहेका सार्वजनिक जग्गामा हाल भवनहरु निर्माण भएका छन, युवा पुस्तालाई खेल्नको लागि खेल मैदानहरु पाउन मुस्किल भएको छ ।”

पोखरा सहित नेपालमै दक्षजनशक्ति अभावमा दिगो विकास हुन नसकेको बताउदै मन्त्री बरालले समाजका केही सचेत बर्ग र प्राविधिकहरुले अब समाज र राष्ट्र राम्रो बनाउन अठोट गर्नुपर्ने जनाउनु भयो । संविधान दिवसको शुभकामना दिदै मन्त्री बरालले राजनीतिक अधिकार प्राप्त गरे पनि अझै आम नागरिकहरुले संविधानको मर्म र भावना अुनसार जनताको जीवनस्तरमा सुधार गर्न नसकिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा पोखरा १४ का वडा अध्यक्ष बोधराज कार्कीले पोखराको शुन्दरता बचाउन महानगरले मापदण्ड विपरित निर्माण भएका घर तथा भवनहरुको महानगरले अबस्था हेरी ३ गुणा राजश्व अशुल गरी अध्यावधिक गर्न खोजेको बताउनुभयो । संस्थाका प्रविधिक सल्लाहकार ई.एम. थापाले पोखरामा करिब ९० प्रतिशत ईन्जिनियर विना घर तथा भवनहरु निर्माण भएको दाबी गर्नुभयो ।
समितिका अध्यक्ष रमेश सि.के.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी निर्माण समन्वय प्रा.लि.(आरएमसी) का अध्यक्ष रामजी सिके, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बन्जरा, लेखनाथ निर्माण व्यवसायी समितिका उपाध्यक्ष भिम नेपाली, श्रम निर्माण समितिका सल्लाहकार तिर्थराज मगर, उपाध्यक्ष दलबहादुर राई, सचिल डिल बहादुर गुरुङ लगायतले वोल्नु भएको थियो ।