नवौँ राष्ट्रिय खेलकुद:गण्डकीका खेल पत्रकारलाई पोखरामा तालिम

हिमाली आवाज । गण्डकी प्रदेशमा यही असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सङ्कलन र सम्प्रेशणलाई सरल बनाउन सञ्चारकर्मीहरुका लागि खेलकुद पत्रकारिता तालिम सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखी सुरु भएको दुई दिनको तालिममा मुस्ताङ बाहेकका १० जिल्लाबाट गरी ७० जना खेल पत्रकारहरुको सहभागिता रहेको छ ।

राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, नियम लगायतका विषयमा जानकारी प्रदान गरी पत्रकारहरुलाई सबै खेल विधामा समाचार सम्प्रेशणमा सक्षम बनाउने उद्धेश्यले तालिम आयोजना गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

उहाँका अनुसार तालिममा ३६ वटै खेलका प्रशिक्षक एवं खेल पदाधिकारीहरुले समाचार सम्पेशणका लागि सञ्चारकर्मीहरुलाई प्रशिक्षित गर्नुहुनेछ । पहिलो दिनको तालिममा १३ जना प्रशिक्षकले प्रशिक्षण दिनुभयो ।

स्क्वासका रामकृष्ण ज्ञवाली, उशुका गोपाल श्रेष्ठ, क्रिकेटका रिजन प्रजु, भारत्तोलनका राजन बड्गामी, फेन्सिङका सन्दीप बराल, सेपाताक्रोका मोहन गुरुङm आर्चरीका योगेन्द्र शेरचन र खो खोका विशालजङ्ग कुँबरले सम्बन्धित खेलका बारेमा जानकारी गराउनुभयो ।

यसैगरी व्याडिमिन्टनका पुनम गुरुङ, बक्सिङका प्रियङ्का बर्मा, टेनिसका निरज थापा, प्याराग्लाइडिङका योगेश भट्टराई र खेल फोटोका बारेमा राम गुरुङले प्रशिक्षण दिनुभएको थियो । बाँकी खेलका बारेमा दोस्रो दिन सम्बन्धित खेलका प्रशिक्षक तथा विज्ञबाट तालिम प्रदान गरिने मञ्चले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने र नवौँ राष्ट्रिय खेलकुद भव्य बनाउन पत्रकारिताको माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहनुभएका गुरुङले प्राविधिक कारणले प्रतियोगिताका लागि यसअघि तय भएका केही ठाउँको खेलस्थल परिवर्तन हुन सक्ने सङ्केत गर्नुभयो ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी गतिविधिलाई आम सर्वसाधारणमाझ पु¥याउन सञ्चारकर्मीबाट निरन्तर साथ प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिमको उद्घाटन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर वानिया, नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासङ्घ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले तालिमले राष्ट्रिय खेलकुदमा प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने बताउनुभयो ।

Comments
Loading...