हिमाली आवाज । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ ।
प्रदेश सरकारले प्रतियोगिताको तयारी अन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलव्ध गराएको हो ।
राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीका लागि पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराइएको प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता तालिमको आज समापन समारोहमा उहाँले चालू वर्षको रातो किताबमा विनियोजित रु एक करोड, प्रतियोगिताका लागि भदौ पहिलो साता उपलव्ध गराइएको र तीन करोड ४६ लाख र पछिल्लोपटक थप रु एक करोड ४० लाख निकासा गरिएको जानकारी दिनुभयो ।
प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट र विशेष प्रशिक्षणका लागि प्रदेश खेलकुद परिषद्को माग अनुसार मन्त्रालयबाट सो रकम निकासा गरिएको अर्थमन्त्री बरालले बताउनुभयो ।
उहाँले भन्नुभयो,“राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको तयारीमा बजेटको अभाव हुन दिएका छैनौँ, खेलाडीको आधारभुत आवश्यकता पूर्तिका लागि सरकारले माग अनुसारको बजेट दिएको छ ।”
राष्ट्रिय खेलकुद आयोजना, यसको व्यवस्थापन खर्च र पूर्वाधार निर्माण लगायतको सम्पूर्ण जिम्मेवारी सङ्घीय सरकारको हो । स्थानीय आयोजक समेत रहेको प्रदेश सरकारले प्रतियोगिताका लागि आफ्नो टिमको तयारी र प्रशिक्षणको खर्च बेर्होनुपर्दछ । नवौँका लागि राष्ट्रिय खेलकुद परिषद्ले यसअघि सातै प्रदेशलाई रु ४९ लाखका दरले बजेट उपलव्ध गराएको थियो ।
कार्यक्रममा अर्थमन्त्री बरालले गण्डकी प्रदेशमा ४० वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउनु सबै प्रदेशबासीको दायित्व रहेको बताउँदै सञ्चारकर्मीहरुले पत्रकारिताका माध्यमबाट योगदान गर्न आग्रह गर्नुभयो । उहाँले खेलकुद क्षेत्रमा रहेको विकृतिका बारेमा समेत कलम चलाउन आग्रह गर्नुभयो ।
तालिममा गण्डकीका १० जिल्लाका ७० जना खेल पत्रकारलाई आसन्न राष्ट्रिय खेलकुदको समाचार सम्प्रेशणका बारेमा प्रशिक्षण दिइएको थियो ।
राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, लगायतका विषयमा सम्बन्धित खेलका प्रशिक्षकले जानकारी प्रदान गरी पत्रकारहरुलाई सबै खेल विधामा समाचार सम्प्रेशणमा तालिमले सक्षम बनाएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताउनुभयो ।
मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अञ्जन खड्का, प्रशिक्षार्थीहरु कमल पौडेल अथक, प्रतिक्षा काफ्ले र हरि खरेल, मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ तथा महासचिव राजाराम पौडेलले तालिम उपयोगी भएको बताउनुभयो ।

