हिमाली आवाज । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजना अन्तर्गत दोस्रो पाक्षिक उपहार विजेता छानिएका छन् ।
उत्सव व्यवस्थापन समिति र पोखरा ट्रेड मल व्यवस्थापन समितिले आज र ग्राहकहरुको उपस्थितिमा दोस्रो पाक्षिक उपहार विजेता छनोट गरेको हो ।
उपहार योजनामा प्रेम गुरुङले १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो । साइना गुरुङले रु दुई हजार ५०० साथमा रु एक हजार बराबरको फेसियल कुपन, यसैगरी कृष्टि थापाले रु दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट जित्नुभएको छ । नवराज दवाडीले एक हजारको साथमा क्लासिक चुलोमा डिनर कुपन र नविना पुनले फिस्टेल ड्रिम पार्कमा एक दिनको कुपन पाउनुभएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताउनुभयो ।
ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् । चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो ।
उपहार कुपन घोषणा कार्यक्रममा पोखरा ट्रेड मलका सञ्चालकहरु वासुदेव पराजुली, सन्तोष घिमिरे, राजुकुमार शर्मा, उत्सव व्यवस्थापन समितिका उपाध्यक्ष सिमा कोइराला, सचिव रमेश बराल, कोशाध्यक्ष रघु दवाडी, सह कोशाध्यक्ष धर्मदत्त अधिकारी, सदस्य सचिव अग्नि भुसाल, सदस्य नबराज ढुङ्गाना, राजिव क्षेत्री, सल्लाहकार गोपाल प्रसाद बाटाजु लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा अघिल्लो पटकका विजेता आरुश खनाललाई रु १० हजार पुरस्कार हस्तान्तरण गरिएको थियो।
मलको चाडपर्व उपहार योजना अन्तर्गत टे«ड मलभित्र पाँच सय रुपैयाँभन्दा माथिको सामान खरीदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्नेछन् ।पाक्षिक उपहार योजनाका विजेताले रु एक हजारदेखि रु १० हजारसम्म नगदका साथै गिफ्ट ह्याम्पर तथा सपिङ भौचर प्राप्त गर्नेछन् भने बम्परमा रु एक लाख पुरस्कार जित्न सक्ने व्यवस्था मिलाइएको छ ।
बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिनेछ । बम्पर उपहार आगामी मंसिर ५ गते र पाक्षिक उपहार आगामी असोज १५,असोज ३०, कात्तिक १५ र कात्तिक ३० गते उपहार खोलिने उत्सव व्यवस्थापन समितिले जनाएको छ ।
मलको कुनैपनि पसलबाट न्यूनतम पाँच सय रुपैँयाको सामान किन्दा एक वटा बम्पर उपहार कुपनका साथै एक हजार ५०० भन्दा माथि सामान खरीद गर्दा तीन वटा कुपन प्राप्त गरी उपहार योजनामा सहभागी बन्न सकिनेछ ।
‘स्क्राच एण्ड विन’ अफरमा सहभागी हुनका लागि कुनै पनि पसलबाट पाँच हजार वा सोभन्दा माथिका सामान खरीद गर्नुपर्ने र स्क्राच गरी लाखौँ नगद नगद एवं सपिङ भौचर कोषाध्यक्ष रघु दवाडीले जानकारी दिनुभयो ।
पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, गहना पसल, रेष्टुरेन्ट, जिम हल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।

