पर्यटन प्रवद्र्धनका लागि नेता केसीको बेगनास–ढोरपाटन साइकलयात्रा

हिमाली आवाज । पर्यटन अभियन्ता एवं युवा राजनीतिकर्मी कृष्ण केसी पोखराको बेगनासतालदेखी बाग्लुङको ढोरपाटन शिकार आरक्षसम्मको साइकल यात्रामा निस्कनुभएको छ ।

विश्व पर्यटन दिवस(असोज ११) को अवसर पारेर पर्यटन प्रवद्र्धनको लक्ष्य सहित उहाँले आजदेखी पोखराको पर्यटकीय गन्तव्य बेगनासतालदेखी गण्डकी प्रदेशकै रमणिय पर्यटकीयस्थल बाग्लुङको ढोरपाटनसम्मको साइकल यात्रा तय गर्नुभएको हो ।

बागलुङ समाज पोखराले बेगनास ताल किनारमा आयोजना गरेको बिदाई कार्यक्रममा अभियन्ता केसीलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, पूर्वगृहमन्त्री एवं नेकपा(एमाले)का संगठन विभाग प्रमुख खगराज अधिकारी लगायतले झण्डा सहित बिदाई गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं पूर्वविद्यार्थी नेता समेत रहनुभएका अभियन्ता केसीले साइकलयात्रा मार्फत धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकी(धौनिढोका) क्षेत्रको प्रवद्र्धनका लागि अभियान सुरु गरेको बताउनुभयो ।

धौलागिरी क्षेत्रलाई वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउने लक्ष्य सहित साइकलयात्रा सुरु गरेको र पर्यटन प्रवद्र्धनमा आफू निरन्तर लागिरहेको बताउनुभयो ।

केसीले पर्यटन प्रवद्र्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्नुभएको छ । उहाँ ‘लोलुफेरा’ लोमान्थाङ–लुम्बिनी र फेवाताल–रारातालसम्मको पदयात्रा अभियानको संयोजक समेत हुनुहुन्छ ।

कार्यक्रममा सभामुख अधिकारीले पर्यटन प्रवद्र्धनको लक्ष्य सहित सुरु गरिएको अभियानको सफलताको कामना गर्दै पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका सबै सम्पदाको विकास गर्नुपर्ने बताउनुभयो ।

केसीलाई नेपालको राष्ट्रिय झन्डा र बागलुङ समाजको लोगो अङ्कित टिसर्ट आदि हस्तान्तरण गरी यात्रा सफलताको शुभकामना व्यक्त गरिएको समाजका निर्वतमान अध्यक्ष सुनिल पाण्डेले बताउनुभयो ।

Comments
Loading...