माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो:नेपाल १० स्वर्ण सहित अग्रस्थानमा

हिमाली आवाज । पोखरामा जारी ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा नेपाल सर्वाधिक पदक सहित अग्रस्थानमा रहेको छ ।

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा असोज ६ देखी ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहल र ब्याडमिन्टन हलमा जारी प्रतियोगिताको आज साँझसम्मको नतिजामा विभिन्न इभेन्ट अन्तर्गत २१ वटा समुहको प्रतिष्प्रर्धामा नेपालले १० वटा स्वर्ण पदक हात पार्दै अग्र स्थानमा रहेको छ ।

यसैगरी छिमेकी मुलुक भारत सात स्वर्ण पदक सहित नेपाललाई पछ्याइरहेको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङले बताउनुभयो ।नेपाल सहित विभिन्न १३ देश सहभागी भएको प्रतियोगितामा मलेसियाले दुई स्वर्ण जित्दा बङ्गलादेश र पाकिस्तानले एक÷एक स्वर्ण पदक जितेको आयोजकले जनाएको छ ।

नेपालका तर्फबाट स्वर्ण पदक जित्न सफल खेलाडीहरुमा १४ देखि १८ बर्ष उमेर समुह तर्फ आयुष गुरुङ, १८ देखि ३० वर्ष पुरुष तर्फको खेलमा जित, प्रेम र अन्जनको समुहले स्वर्ण पदक हात पार्दा १४ देखि १८ बर्ष उमेर समुहमा अर्पणा चौधरीले स्वर्ण पदक दिलाउनुभयो ।

यसैगरी नौदेखि १२ बर्ष उमेर समुहमा प्रतिक्षा राना, १४ देखि १८ बर्ष टिम पुरुष तर्फको खेलमा ओम भण्डारी, उपासक घिमिरे र आयुष सुवाल, नौदेखि १२ बर्ष उमेर समुहमा महिला तर्फको खेलमा जेसिका लामा, रासिया श्रेष्ठ र कुसुम तामाङले स्वर्ण पदक हात पार्नुभयो ।

यसैगरी १२ देखि १४ बर्ष उमेर समुहमा ट्रिजन चौधरी र सोही इभेण्टको महिला तर्फको टिम इभेण्टमा अन्जिला मोक्तान, सयिना रिजाल र निकीता रावतले स्वर्ण पदक हात पार्न सफल हुनुभयो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगिता अन्तर्गत रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा जि–२ ¥याङकिङ तथा ब्याडमिन्टनको हलमा पुम्सेका खेलहरु भईरहेका छन् ।

प्रतियोगितामा नेपाल सहित, भारत, पाकिस्तान, श्रीलङ्का, अमेरीका, बङ्गलादेश लगायतका १३ देशका एक हजार ४०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

Comments
Loading...