हिमाली आवाज । सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्ष सहितको प्रतिवेदन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ ।
भदौ ५ र ६ गते पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरुको मस्यौदा सहितको विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले ६ दसक भन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोग समेत गठनादेशबाट चल्दै आउनु विडम्बना पूर्ण रहेको बताउनुभयो ।केन्द्र र प्रदेशका योजना आयोगहरुलाई अझ सशक्त बनाउनका लागि यो भेलाले महत्वपूर्ण निर्णयहरु गरेको उहाँको भनाई छ । भेलामा भएका निर्णय कार्यान्वयनका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाउनुभयो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. काफ्लेले प्रदेशका आयोगलाई सशक्त र प्रभावकारी बनाउनका लागि ऐन बनाएर ल्याउन जरुरी रहेको बताउनुभयो । त्यसैका लागि भेलाले गरेको मार्गनिर्देशन अनुसार प्रदेश नीति तथा योजना आयोग ऐनको मस्यौदा तयार पारिएको जानकारी दिनुभयो ।
यसैगरी प्रदेश तथ्यांक व्ययवस्थापन ऐन, प्रदेश आयोजना बैंक निर्माण सम्बन्धी मापदण्ड, प्रदेश आयोजना बैंक दिग्दर्शन, प्रदेश योजना अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा समेत उपाध्यक्ष डा. काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभयो ।