हिमाली आवाज । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजको खेलमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ ।
फेन्सिङतर्फ ‘एकल सेभर’ विधातर्फ एपीएफका राजेन्द्र गजुरेल, महिला तर्फको ‘फोयर’ विधामा आर्मीका रमा सिंह र पुरुष तर्फको ‘इपि विधा’मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जित्नु भएको छ ।
पोखरा रङ्गशालास्थित ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धाको साँझ सम्पन्न खेलमा एपीएफका गजुरेलले टिमका लागि पहिलो स्वर्ण दिलाउनुभयो ।उहाँले यस अगाडि सातौँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, आठौँमा टिम र एकलतर्फ रजत पदक जित्नुभएको थियो ।
सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रतज पदक हासिल गर्नुभयो भने आर्मीकै रघुविर चन्द्र र एपीएफका खेमराज खत्रीले कास्य पदक हासिल गर्नुभयो ।
महिला तर्फको फोयरमा स्वर्ण पदक विजेता सिंहले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौँमा रजत पदक हासिल गर्नुभएको थियो । एपीएफका मनिषा राईले रजत पदक र एपीएफकै मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पार्नुभयो ।

पुरुष तर्फको इपि विधामा स्वर्ण जित्ने सिंहले आठौँमा पनि स्वर्ण पदक जित्नुभएको थियो । इपिमा आर्मीका राम थापाले रजत पदक जित्नुभयो । त्यसै गरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मीन कार्कीले कास्य पदक जित्न सफल हुनुभयो । गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल हुनुभयो ।
हालसम्म फेन्सिङको अङ्क तालिका अनुसार आर्मी शीर्ष स्थानमा छ । आर्मीले दुई स्वर्ण, तीन रजत र चार कास्य सहित नौ पदक प्राप्त गरेको छ ।
यसैगरी बागमती प्रदेश दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार पदक प्राप्त गरेको छ । ससस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र छ कास्य सहित नौ पदकका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश एक स्वर्ण पदक सहित चौथो स्थानमा छ ।
यसैगरी आयोजक गण्डकी प्रदेश एक कास्य सहित पाचौं स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिले सम्म पदक जित्न सकेको छैन ।
प्रतियोगितामा आजका विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ लगाएतले पदक वितरण गर्नुभयो ।