पोखरा महानगरद्धारा नवौँका विजेता खेलाडीलाई पुरस्कार घोषणा

हिमाली आवाज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ ।राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई नगद सहित सम्मान गरिने महानगरले जनाएको छ ।

पोखरा महानगर पालिकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ ।महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमश ः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद सहितसम्मान पत्र प्रदान गरिने निर्णय भएको छ ।

उहाँका अनुसार कुनै पनि टिम खेलतर्फ विजेतालाई नगद रु पाँच÷पाँच हजार दरले पुरस्कार प्रदान गरेर खेलाडीलाई प्रोत्साहित गरिनेछ ।
महानगरबाट राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुलाई आज एक कार्यक्रमकाबीच बिदाई तथा शुभकामना व्यक्त गर्दै महानगर प्रमुख आचार्यले महानगरवासीलाई एकतावद्ध भएर खेलाडीलाई हौसला बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“निर्वाचन नजिकिंदै छ, त्यो आफ्नो ठाउँमा छ । तर त्यो भन्दा पनि ठूलो नवौं राष्ट्रिय खेलकुद हाम्रो सामु छ । प्रतियोगिता सफल बनाउने संगै पदक जितेर पोखरा र गण्डकीको सान बढाउन सबैमा आग्रह गर्न चाहन्छौँ ।”

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले खेलाडीहरुलाई जितको शुभकामना दिंदै गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेको नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी प्रतियोगिता जितेर यहीँ राख्ने गरी मिहनेत गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,“हाम्रो लागि ठूलो अवसर अहिले प्राप्त भएको छ, नवौं राष्ट्रियको ट्रफी हामीले नगर परिक्रममा गरी स्वागत गरेका छौं । अव प्रतियोगिता जितेर ट्रफी हाम्रो प्रदेशमा राख्ने गरी खेलाडीले प्रदर्शन गर्न सफल हुनुहोला ।”

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले राष्ट्रिय खेलकुदमा महानगरका २०० खेलाडीले गण्डकी प्रदेशबाट ३२ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

Comments
Loading...