एमाले नेता बास्तोला सहित कास्कीमा १६ जनाको उम्मेदवारी फिर्ता

पोखरा । कास्कीमा १६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गत आइतबार उम्मेदवारी दर्ता गराएका उनीहरुले आज उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा एमालेबाट बागी उम्मेदवारी दिनुभएका एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । एमाले अध्यक्ष केपी ओलीको फोनपछि बास्तोलाले उम्मेदवारी फिर्ता लिनुभएको बताइन्छ ।यस क्षेत्रमा राप्रपा नेपालका राजाराम दाहाल र स्वतन्त्रका एमकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश क क्षेत्रबाट जसपा नेपालका जगतबहादुर गुरुङ र स्वतन्त्रबाट लीलाधर ढकाल र चन्द्रबहादुर गुरुङ एवं प्रदेश ख बाट राप्रपा नेपालकी चीना दवाडीले उम्मेदवारी फिर्ता लिनुभयो ।कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका राप्रपा नेपालका महेन्द्र खत्री र स्वतन्त्रबाट घननाथ सापकोटा र आनन्द सापकोटाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट भरतराज तिवारी र प्रदेश ‘ख’ बाट दिलमाया मुक्तान (पहारी) ले उम्मेदवारी फिर्ता लिएको र दुवै जनाले स्वतन्त्रमा उम्मेदवारी दिएको बताइन्छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका राप्रपा नेपालका अजय विश्वकर्मा, क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट जसपाका ईश्वरकुमार गुरुङ, राप्रपा नेपालका दीपक विश्वकर्मा र स्वतन्त्र उम्मेदवारी दिनुभएका सुन्दर बरालले आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो ।

Comments
Loading...