नवौँ राष्ट्रिय खेलकुद : पोखरा रंगशालामा सुरु भयो टेनिसको प्रतिस्पर्धा

हिमाली आवाज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखी पोखरा रङ्गशालाको टेनिस कोर्टमा टेनिस सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गर्नुभयो ।

सदस्य सचिव घिसिङले मुख्य टेनिस प्रशिक्षक रेणुदेवी कोण्डालाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिताको सुभारम्भ गर्नुभएको हो ।

टेनिसमा आयोजक गण्डकी प्रदेश, तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोलीले भाग लिएका छन् ।
टेनिसमा महिला तथा पुरुष टिम इभेण्ट, महिला डबल्स, पुरुष डबल्स, मिक्स, महिला व्यक्तिगत र पुरुष व्यक्तिगत गरी सात विधामा प्रतिस्पर्धा हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।प्रतियोगितामा सात स्वर्ण, सात रजत र १४ कास्यका लागि ८० जना खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ ।

टेनिसमा पुरुषतर्फ नेपालको नम्बर १ वरियताका खेलाडी प्रदीप खड्का गण्डकी प्रदेशबाट र महिलातर्फ शीर्ष वरियताका अभिलाशा विष्ट नेपाली सेनाको टोलीबाट खेल्नुहुनेछ ।

पोखरा रंगशालामा टेनिसका छ वटा कोर्ट छन् । चार वटामा टेनिस र दुईवटामा सफ्ट टेनिसका खेल हुने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिनुभयो ।

कार्यक्रममा सदस्य सचिव घिसिङले नीजि क्षेत्रको लगानीमा टेनिसका खेल पूर्वाधार निर्माण हुनु अत्यन्त प्रशंसनीय रहेको बताउँदै प्रतियोगितामा सहभागी खेलाडीहरुलाई उच्चतम प्रदर्शन गरी विजयको शुभकामना व्यक्त गर्नुभयो ।

उद्घाटनका अवसरमा नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, गण्डकी प्रदेश खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङ, टेनिस संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...