–कृष्ण दवाडी
हिमाली आवाज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा आठौँ समापन समारोहमा नवौँ आयोजनाको जिम्मेवारी सहितको खेलकुदको झण्डा बोकेर गण्डकी प्रदेशको टोली पोखरा आएको थियो ।
दुई वर्षमा गर्नुपर्ने भएपछि विसं २०७७ फागुन अन्तिम साताका लागि नवौँको मिति तय भएर तयारी सुरु गर्दा विश्वव्यापी फैलिएको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन ।
सम्पूर्ण देश आक्रान्त बन्यो । राष्ट्रिय खेलकुद गर्ने वातावरण बनेन भने सरकारको खेलकुद भन्दा जनताको जीवन बचाउने प्रमुख जिम्मेवारी आयो । जसका कारणतोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन सकेन ।
विसं २०७८ को माघ÷ फागुनका लागि पुनः तयारी सुरु गर्दै गर्दा कोभिडको प्रभाव कायमै रह्यो । विसं २०७९ जेठ २२ देखी २८ गतेसम्म अर्कोपटक मिति तोकिएको । केही तयारीका काम भएपनि दोस्रो स्थानीय तह निर्वाचनका कारण सो समयमा पनि राष्ट्रिय खेलकुद सम्भव भएन ।
हरेक दुई÷दुई वर्षमा हुने राष्ट्रिय खेलकुद पटक÷पटक मिति सर्दै गएपछि प्रतियोगिताका सम्बन्धमा आशङ्का कायमै रह्यो । विगतमा १५ वर्षसम्म पनि राष्ट्रिय खेलकुद नभएकाले आशङ्का गर्नेहरुलाई बल पुगेको थियो ।
सरकारले गत जेठ दोस्रो साता असोज २८ देखी कात्तिक ३ गतेसम्म नयाँ मिति घोषणा गरेपनि धेरैले प्रतियोगिता हुने विश्वासै गरेका थिएनन् ।
अविश्वास गर्ने ठाउँ थियो मङ्सिर ४ मा प्रतिनिधिसभा तथा प्रदशेसभा निर्वाचन सरकारले तोकेको थियो । निर्वाचनको सम्मुख साथै दशैँ, तिहार जस्ता ठूला चाडपर्वको बीच भएकाले पनि आशङ्का गर्नेहरुलाई बल पुग्यो । मौसमको चूनौतीका कारण पछिल्लो सातासम्म पनि प्रतियोगिता हुनेमा आशङ्का कायमै थियो ।
तर धेरैको आशङ्कालाई चिर्दै र चूनौतीको सामना गरेर, अविश्वासलाई विश्वासमा परिणत गर्दै नेपाली खेलकुदको कुम्भ मेलाको आज भव्य समुद्घाटन सम्पन्न भएको छ । सुःखद पक्ष प्रतियोगिता उद्घाटनका दिन खुलेको माछापुच्छ«ेले सबैलाई खुःशी दिएको थियो ।
पोखरा रङ्गशालाको १६ हजार ५०० दर्शक क्षमताको प्यारापिटका दर्शकलाई साँची राखेर नवौँको उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य उद्घाटन गरेर राष्ट्रिय खेलकुदको शुभारम्भ गर्नुभयो ।

उद्घाटन समारोहमा प्रस्तुत मार्चपास, झाँकी, सांस्कृतिक कार्यक्रम र नृत्यले सम्पूर्ण देशलाई एकतावद्ध बनाएको सन्देश दिएको छ । कलाकारका पूर्वमेची देखी महाकालीसम्मका विभिन्न जाति र समुदायका देशप्रेमका गीत र सङ्गीतले रङ्गशालामा गुञ्जिदा सबैलाई उत्साहित पा¥यो । प्रतियोगितालाई तामझाम बनाउन गरिएको आतिशबाजीले सम्पूर्ण पोखरेलीको ध्यान खिच्न सफल भयो ।
प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले अन्तिम घडीसम्म पनि प्रतियोगिताका लागि चूनौती रहेपनि भव्य उद्घाटन गर्न पाउँदा खुःशी लागेको बताउनुभयो । उहाँले केही कमजोरी रहेपनि मुलभुत रुपमा प्रतियोगिताको भव्य तयारी भएको र उद्घाटन समारोहले सबैलाई हर्षित बनाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“राष्ट्रिय खेलकुदका लागि थुपै चुनौतीहरु रहेपनि त्यसँग जुध्दै भव्य उद्घाटन गर्न सफल भएका छौँ । पछिल्लो समय अनपेक्षित वर्षाको चूनौती पनि रहेन । सात महिनाको तयारीले प्रतियोगिता सम्भव भएको हो । ”
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँको आयोजनाले पोखरेलीहरु हर्षित छन् । सँगसँगै नवौँका लागि बन्नुपर्ने पौडी, सुटिङ र हक्कीका खेल पूर्वाधार नबन्दा उनीहरु निरास पनि छन् ।
नवौँका लागि पोखरा रङ्गशालामा खेल पूर्वाधार नथपिँदा आफूहरु चिन्तित बनेको अग्रज भूपू खेलाडी हरि प्रसाद पराजुलीले बताउनुभयो । नवौँको समाप्तिपछि समेत बाँकी खेल पूर्वाधार निर्माणका लागि सरकारले ध्यान दिनुपर्ने उहाँ बताउनुभयो ।
आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार १५७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गतका केही खेल असोज २३ देखीनै सुरु भएकामा अधिकाँस खेल आजदेखी प्रदेशका आठ जिल्लामा सञ्चालन भएका छन् ।