नवौं राष्ट्रिय खेलकुद : १२८ पदक सहित सेनाको अग्रता कायमै

हिमाली आवाज । विभागीय नेपाली सेनाले गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ ।

सेनाले आज विहानसम्मको अद्यावधिक विवरण अनुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्य सहित १२८ पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा छ ।

सेनाले सुरुआतदेखीनै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ । पदक तालिकाको द्धितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि छन् । प्रदेशहरुले विभागीय टोलीलाई पछ्याइरहेका छन् ।

विभागीय नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य सहित ६५ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १६ स्वर्ण, २५ रजत र ३३ कास्य सहित ७४ पदक जितेर तृतीय स्थानमा छ ।

बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित ५९पदक जितेको छ ।
आयोजक गण्डकी प्रदेशले हालसम्म दस स्वर्ण, आठ रजत र २० कास्य गरी ३८ पदक हात पारेको छ । गैर आवासीय नेपाल सङ्घ(एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्य सहित १६ पदक जितेको छ ।

यसैगरी प्रदेश नं १ ले तीन स्वर्ण आठ रजत र २१ कास्य सहित ३२ पदक जित्दा मधेश प्रदेशले दुई स्वर्ण, तीन रजत र सात कास्य सहित १२ पदक जितेको छ ।

सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, एक रजत र ११ कास्य सहित १४ पदक जित्दा लुम्बिनी प्रदेशले एक स्वर्ण, नौ रजत र १२ कास्य सहित २२ पदक र कर्णाली प्रदेशले एक स्वर्ण एक रजत र दुई कास्य सहित चार पदक ल्याएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यही असोज २८ देखी प्रतियोगिताका ३६ वटा खेलहरु भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

Comments
Loading...