नवौं राष्ट्रिय खेलकुद : १८५ पदक सहित सेनाको फराकिलो अग्रता

हिमाली आवाज । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाली सेनाले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।

सेनाले बुधबार विहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्य सहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । सेनाले अन्य टोलीलाई दोब्बर भन्दा बढीले पछि पारेको छ ।नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल १०८ पदक जित्दै दोस्रो स्थानमा रहेर सेनालाई पछ्याइरहेको छ ।

यसैगरी सशस्त्र प्रहरीको एपिएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । एपिएफले हालसम्म कूल १२० पदक जितेको छ ।
आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक बागमतीलाई पछि पारेको छ । यसअघि प्रदेशहरुमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्य सहित ६१ प्दक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कस्य सहित ७४ पदक हासिल गरेको छ ।

सुदुरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्य सहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ ।मधेश प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्य सहित ३१ प्दक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्य सहित ५१ पदक ल्याएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशले तीन स्वर्ण,१२ रजत र २२ कास्य सहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ ।

यही असोज २८ देखी औपचारिक सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते औपचारिक समापन हुँदैछ । प्रतियोगितामा ३६ खेल सञ्चालन भएका छन् ।

Comments
Loading...